काठमाण्डौ । विभिन्न मुद्धा तथा लफडाले पूँजीवृद्धि योजना समेत अगाडि बढाउन नसकेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले ५० प्रतिशत हकप्रद निश्कासनको अजेण्डासहित आगामी भदौ १६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा रुपन्देहीमा आयोजना गर्ने भन्दै सहभागिताका लागि सेयरधनीलाई आह्वान गरेको हो । 

साधारणसभाको मुख्य एजेण्डाको रुपमा ५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गर्ने समेत रहेको छ । संस्थापक समूह र सर्वसाधारण समूहबाट ३ ३ जनाको दरले संचालक निर्वाचित गर्ने कार्यक्रम समेत रहेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

वार्षिक साधारणसभाका लागि साउन २० गतेलाई बुक क्लोजको मिति तोकिएको छ । साउन १९ गतेसम्म यो बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले साधारणसभामा सहभागी हुन पाउनेछन् । खराब अवस्था भएका विकास बैंकहरु यो बैंकमा समाहित भएका कारण चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १६ करोड ७३ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ६७ करोड रहेको छ । ५० प्रतिशत हकप्रदपछि चुक्तापूँजी ७ अर्ब १ करोडको उचाईमा पुुग्नेछ ।