काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कले स्पेसएक्स इभेन्टमा लागूपदार्थ सेवन गरेको समाचार बाहिरिएको छ ।

द वाल स्ट्रिट जर्नलले एलन मस्कले स्पेसएक्स इभेन्टमा कोकिन र एलएसडी सेवन गरेको र आफ्नो भाषणमा अभद्र भाषा प्रयोग गरेको रिपार्ट सार्वजनिक गरेको छ । 

गत वर्ष मस्कले डिप्रेशनको उपचारका लागि केटामाइन जस्ता साइकेडेलिक लागूऔषध प्रयोग गर्ने गरेको समाचार बाहिरिएका थिए । 
रिपार्टका अनुसार पछिल्ला केहि वर्षदेखि टेस्ला र स्पेसएक्सका कयौँ सञ्चालक समितिका सदस्यले मस्कको लागूऔषध सेवन गर्ने बानीले उनको स्वास्थ्य र व्यवसायिक साम्राज्यमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

मस्क्लाई नजिकबाट चिन्नेहरुले विश्वभरका निजी पार्टीहरुमा उनले एलएसडी,कोकीन,एक्सटेसी र साइकेडेलिक मसरुम प्रयोग गर्ने गरेका दाबी गरेका छन् । 

मस्कले स्वयम पनि आफुसँग साइकेडेलिक,केटामाइन जस्ता लागूऔषध सेवन गर्ने प्रिस्क्रिप्सन भएको र पहिले पनि सार्वजनिक रुपमा गाँजा सेवन गरेको बताउने गरेका छन् । 

यसका साथै मस्क र उनका भाई किम्बल मस्क मायामीमा सन् २०२१ मा एउटा आर्ट बेसल हाउस पार्टीमा केटामाइन प्रयोग गरिरहेको अवस्थामा भेटिएका थिए ।

यति मात्रै नभई टेस्लाका पूर्व सञ्चालक सदस्य र वर्तमान स्पेसएक्सका सञ्चालक स्टीव जुर्वेटसनसँग मस्क गैरकानूनी लागूऔषध सेवनमा सहभागी थिए । 

रिपार्टका अनुसार टेस्लाकी पूर्व निर्देशक लिन्डा जोनसन राइस मस्कको व्यवहार र उनको लागूऔषध गर्ने बानीबाट यति आक्रोशित भएकि थिइन् कि उनले सन् २०१९ मा कम्पनीको सञ्चालक समितिका लागि पुनःमतदानको माग गरेकी थिइन् ।

तथापी मस्कका वकील एलेक्स स्पिरोले मस्कको दैनिक लागूऔषध परिक्षण गर्ने गरिएको र उनी कहिल्यै पनि उक्त परिक्षणहरुमा फेल नभएको बताएका थिए । 

रिपार्टका अनुसार स्पेसएक्सका केहि अधिकारीहरुले सन् २०१७ मा कम्पनीको एउटा समारोहमा मस्कमा केहि बदलाव देखेका थिए । सयौँ कर्मचारी क्यालिफोर्नियामा रकेट कम्पनीको हेडक्वाटरमा मिशन कन्ट्रोलको आसपासमा जम्मा भएका थिए । उनीहरु मस्को प्रतिक्षामा थिए । मस्क एक घण्टा ढिलोगरी उपस्थित भए । 

समारोहमा सहभागी अधिकारीहरुका अनुसार मस्क स्टेजमा भएका बेला होसमा थिएनन् । उनले एपेसएक्सको बिग फाल्कन रकेट प्रोटोटाइपलाई ‘बिग एफ.... रकेट प्रोटोटाइप’ भन्दै लगभग १५ मिनेटसम्म गाली गलौज गरेका थिए । तर स्पिरोले यो घटनालाई झुठो बताएका थिए ।- एजेन्सी