काठमाण्डौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लाभांश वितरणमा अपनाइएको पुरानो व्यवस्था खारेज गरेको छ। 

मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ एकीकृत निर्देशन जारी गरेको छ। सोही एकीकृत निर्देशनमार्फत लाभांश वितरण अपनाइएको पुरानो व्यवस्था खारेज गरेको हो। 

यसअघि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो। यही व्यवस्थालाई राष्ट्र बैंकले खारेज गरेको हो। 

अब बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश पनि वितरण गर्न सक्ने छन्।

यसअघिको व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउँथे। तर यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने भनिएको थियो। 

यसअघि खुद वितरणयोग्य मुनाफा कुल चुक्तापुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागिबाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। 

अब यी व्यवस्थाहरु राष्ट्र बैंकले खारेज गरेको छ।