काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत फागुन १० गते एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाइ गर्यो। संशोधित निर्देशनमा लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। 

यो संशोधित निर्देशन आएसँगै राष्ट्र बैंकले स्वीकृतिका लागि आएका लघुवित्तका लाभांशमा धमाधम कटौती गर्न थाल्यो। तर, त्यसअघि भने राष्ट्र बैंकले नै केही लघुवित्तहरुको ६५ प्रतिशत बढी लाभांश स्वीकृत गरेको थियो। 

राष्ट्र बैंकले धमाधम लघुवित्तको लाभांश कटौती गरिरहेकै बेला नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांश प्रस्ताव गरेपछि सेयर बजारमा निकै चर्चाको विषय बन्यो। यो संस्थाको सञ्चालक समितिको गत चैत ९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८–७९का लागि चुक्तापुँजी २५ करोड २५ लाख रुपैयाँमा उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशतले हुन आउने १८ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 

प्रस्तावित लाभांशमा ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर, २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश थिए। कर प्रयोजनार्थ ३.६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको रकम संस्थाले छुट्याएको थियो। 

योसँगै नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांशमा पनि राष्ट्र बैंकले कैंची चलाउने हो कि भन्ने चिन्ता र संशय लगानीकर्तामा परेको थियो। नभन्दै राष्ट्र बैंकले वैशाख ४ गते नेष्डो समृद्ध लघुवित्तलाई पत्र पठाउँदै चुक्तापुँजीको १७.९३४२ प्रतिशतले हुन आउने लाभांश (बोनस वा नगद तथा करसहित) वितरण गर्न निर्देशन दिएको छ। 

लाभांश प्रस्ताव गरेसँगै नेष्डो समृद्ध लघुवित्तले आफूहरुले फागुन १० गतेको निर्देशनबमोजिम सबै मापदण्ड पूरा गरी लाभांश प्रस्ताव गरेकोले राष्ट्र बैंकले स्वीकृति दिनैपर्ने दाबी गर्दै आएको थियो। जसका कारण लगानीकर्तामा पनि केही आशा पलाएको थियो। तर, राष्ट्र बैंकले नेष्डो समृद्धको लाभांशमा भारी कटौती गरेपछि लगानीकर्ताको आशा निराशामा परिणत भएको छ। 

नेष्डो समृद्ध लघुवित्तका सीईओ विश्वप्रकाश प्रसाई ठकुरी राष्ट्र बैंकले कटौती गरी पठाएको लाभांश तत्काल कार्यान्वयन नगर्ने बताउँछन्। ‘हिजो राष्ट्र बैंकबाट लाभांश घटाएर पत्र प्राप्त भएको छ’, उनले भने, ‘संस्थाको सञ्चालक समितिको हिजै बसेको बैठकले तत्काल राष्ट्र बैंकले घटाएर पठाएको लाभांश कार्यान्वयन नगर्ने निर्णय गरेको छ।’

राष्ट्र बैंकको उक्त निर्देशनप्रति सीईओ ठकुरीले असन्तुष्टि व्यक्त गरे। ‘हामीले फागुन १० गतेको निर्देशनबमोजिम नै सबै मापदण्ड पूरा गरी लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएका थियौँ। तर, मापदण्ड पूरा गर्दागर्दै पनि लाभांश कटौती गरिदिनु उचित होइन।’

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त एउटै प्रकृतिका संस्थाबीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समान व्यवहार नगरेको ठकुरीको भनाइ छ। ‘राष्ट्र बैंकको यो कदमले सेयरधनीहरुले पाउने प्रतिफलको अधिकरसमेत हनन भएको छ’, उनले भने, ‘राष्ट्र बैंकको निर्णय संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने र लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थाको समेत प्रतिकूल पर्ने देखिएको छ।’

राष्ट्र बैंक निर्णयमाथि आफूहरुले कानुनी परामर्श सुरु गर्ने पनि ठकुरीले बताए। ‘सञ्चालक समितिले लाभांश के–कति कारणले घटाउनुपरेको भन्ने जानकारी राष्ट्र बैंकसँग माग्ने निर्णय गरेको छ’, उनले भने, ‘राष्ट्र बैंकबाट जानकारी आएपछि संस्थाले थप प्रक्रिया अगाडि बढाउनेछ। अहिलेलाई भने हामी राष्ट्र बैंकले कटौती गरेर पठाएको लाभांश कार्यान्वयन गर्ने पक्षमा छैनौँ।’

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका प्रमुख एवं कार्यकारी निर्देशन रेवतीप्रसाद नेपालले फागुन १० गतेको निर्देशनबमोजिम नै नेष्डो समृद्ध लघुवित्तलाई १७.९३४२ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृति प्रदान गरिएको बताए। ‘उक्त निर्देशनअनुसार नेष्डो समृद्ध लघुवित्तले त्यतिभन्दा बढी लाभांश वितरण गर्ने क्षमता देखिएन’, उनले भने, ‘नियमभित्र राखेर त्यति लाभांश वितरण गर्न निर्देशन दिइएको हो।’

नेष्डो समृद्ध लघुवित्तले फागुन १० को निर्देशनबमोजिम सबै मापदण्ड पूरा गरी लाभांश प्रस्ताव गरेको दाबी गरेको छ नि भन्ने बिजशालाको प्रश्नमा कार्यकारी निर्देशन नेपालले भने, ‘जोसुकैले जेसुकै हल्ला वा दाबी गरुन्, त्यसमा राष्ट्र बैंकको चासो भएन। राष्ट्र बैंकले नियमसंगत ढंगले नै नेष्डो समृद्ध लघुवित्तलाई लाभांश बाँड्न स्वीकृति प्रदान गरेको छ।’