काठमाण्डौ । लामो समयसम्मको लफडा तथा मुद्धामामिला भोगेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले अन्ततः हकप्रद सेयर निश्कासनको अनुमति पाएको छ । 

कतिपय राम्रा बैंक तथा बित्तीय संस्थाहरुको हकप्रद नबिकेर हैरानी परिरहेको बेला एनसीसी बैंकले हकप्रद सेयर निश्कासनको अनुमति पाएको हो । 

नेपाल धितोपत्र बोर्डले शुक्रबार बैंकलाई २ बराबर १ को अनुपात(५० प्रतिशत) हकप्रद निश्कासनको अनुमति दिएको हो ।

योसँगै अब बैंकले निकट भविष्यमा १०० रुपैयाँ अंकित दरले कुल दुई अर्ब ३३ करोड ९५ लाख २९ हजार बराबरका दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निश्कासन गर्नेछ । 

यो बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। 

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ छ। हकप्रदको पूँजीकरणपछि बैंकको चुक्तापूँजी ७ अर्ब २ करोडको हाराहारीमा पुग्नेछ । त्यसपछि यो बैंकले करिब १ अर्ब बराबरको बोनस सेयर वितरण गरी केन्द्रीय बैंकले तोकेको चुक्तापूँजी पुर्याउनेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ५४ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ। 

विभिन्न लफडा र मुद्धामामिला खेपेको यो बैंकले दुर्इ वर्षदेखि वार्षिक साधारणसभा गर्न सकेको छैन । पछिल्लो समय सुधारको चरणमा रहेको बैंकविरुद्ध ठूला सेयरधनीहरुले नै पटक पटक मुद्धा हाल्ने गरेका छन् । मर्जरको क्रममा यो बैंकमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंकका कारण केही समय प्रगति रोकिए पनि सो बैंकमा भएको ठूलो घोटालाका दोषीलाई पक्राउ गरिएपछि एनसीसी बैंकले अगाडि बढ्ने बाटो समेत पाएको कतिपय संचालकको दाबी छ ।