काठमाण्डौ । दुई दशकपछि नेपाल बैंकको वार्षिक साधारणसभामा रौनक देखिएको छ । कारण, यति लामो समयपछि यो बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएकोले लगानीकर्तामा उत्साह र रौनक देखिएको हो । 

शुक्रबार सम्पन्न बैंकको ६० औं वार्षिक साधारणसभाले संचालक समितिबाट आएको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव ध्वनि मतका साथ पारित गरेको छ । 

देशकै पहिलो बैंक भएर पनि लामो समयसम्म सेयरधनीलाई लाभांश दिन सकेको थिएन । तर पछिल्लो समय तीव्र रुपमा सुधारपथमा रहेको यो बैंकको वित्तीय स्वास्थ्यमा तीव्र सुधारसँगै लाभांश वितरणको अवस्था बन्न पुगेको हो । वर्षौपछि लाभांश पाउने खुशीका कारण लगानीकर्ताले साधारणसभा हल खचाखच भरिएको थियो । बैंकको आगामी रणनीतिको विषयमा बुझ्न, सुझाव दिन समेत लगानीकर्ता थुप्रिएका थिए । 

काठमाण्डौको हलचोकस्थित एपीएफ क्लबमा भएको साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल गरी पारित गरेको छ । 

सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउनेरु .९८,११,१४,८००(अक्षेरुपी अन्ठानब्बे करोड एघार लाख चौध हजार आठ सय) नगद लाभांश (लाभांश कर समेत) र चुक्तापूँजीको १५ प्रतिशतका दरले हुन आउने रु.१,४७,१६,७२,२०० (अक्षेरुपी एक अर्ब सत्चालिस करोड सोह्र लाख बहत्तर हजार दुई सय) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 

बैंकको अधिकृत पूँजी रु.१० अर्बबाट बृद्धि गरी रु.१५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पूँजीमा बृद्धि गरी रु.११,२८,२८,२०,२०० (अक्षेरुपी एघार अर्ब अठ्ठाइस करोड अठ्ठाइस लाख बीस हजार दुई सय) कायम गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मत रुपमा पारित भएका छन् ।