काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण देशका सबै २८ वटा वाणिज्य बैंकले प्रकाशन गरिसकेका छन् । प्रकाशित ती विवरणहरुको आधारमा हेर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ वाणिज्य बैंकले नाफामा सामान्यदेखि १८२ प्रतिशतसम्मको वृद्धि हासिल गरेका छन् भने तीनवटा बैंकले कमजोर प्रदर्शन गरेका छन् । 

पहिलो त्रैमासमा सबै वाणिज्य बैंकहरुको औसत वृद्धिदर ४३ प्रतिशतको हाराहारीमा देखिएको छ भने ९ अर्ब ५९ करोड नाफा बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा देशका वाणिज्य बैंकहरुले खूद नाफा ६ अर्ब ६८ करोड मात्र वृद्धि हासिल गरेका थिए । 

सिभिल बैंकको नाफामा ७०.८९ प्रतिशतको पहिरो गयो भने जनता बैंक नेपाल लिमीटेडको खूद नाफा पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो आबको सोही अवधिमा ५३.६१ प्रतिशतले घट्यो । राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि १७.०८ प्रतिशतले घट्यो   ।

गत आर्थिक वर्षको समग्र वित्तीय विवरणमा नाफा वृद्धिमा अगाडि रहेको नेपाल बैंक लिमीटेडले पहिलो त्रैमासमा पनि बाजी मार्यो । नाफा वृद्धिको हिसाबले पहिलो त्रैमासमा नेपाल बैंक नै अगाडि देखियो । नेपाल बैंकले पहिलो त्रैमासमै १ अर्ब १६ करोड खूद नाफा गरी रेकर्ड राखेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले ४४ करोड ४३ लाख मात्र नाफा कमाएको थियो । यो हिसाबले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससँग तुलना गर्दा यो आबको पहिलो त्रैमासमा यो बैंकले खूद नाफा १६२.४२ प्रतिशतले बढाएको छ । 

आफूलाई तीव्र रुपमा सुधार गरिरहेको नेपाल बैंकले पहिलो त्रैमासमा पनि आफ्नो नाममा रहेको सम्पत्ति तथा क्रस होल्डिंगमा रहेका सेयरहरु बिक्री गरेर नाफामा उच्च वृद्धि हासिल गरेको हो । सम्पत्ति बिक्री बाहेकको समग्र व्यापार समेत बढाएर बैंकले नाफालाई थप उचाईमा पुर्याएको देखिएको छ ।

रकमको हिसाबले नबील बैंक लिमीटेड धेरै नाफा कमाउने वाणिज्य बैंकको सूचिमा दोश्रो स्थानमा छ । यो बैंकले पहिलो त्रैमासमै ८० करोड ६० लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २१.४२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आबको पहिलो त्रैमासमा यो बैंकले ६६ करोड ३८ लाख खूद नाफा आर्जन गरेको हो । 

प्रतिशतको हिसाबले हेर्ने हो भने ६ वटा बैंकहरुले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा तुलनामा चालु आबको सोही अवधिमा खूद नाफामा १ सय भन्दा बढी प्रतिशतको प्रगति हासिल गरेका छन् । सबैभन्दा बढी कुमारी बैंक लिमीटेडले १८२.३३ प्रतिशतको प्रगति हासिल गरेको छ । त्यसपछि क्रमशः नेपाल बैंकले १६२.४२, एनएमबी बैंकले १६२.०७, सिटिजन्स बैंक इन्टरनेशनलले १३८.१६, सनराइज बैंकले ११४.८७ र सिद्धार्थ बैंकले ११०.४१ प्रतिशतले नाफा बढाएका छन् ।

६ वटा बैंकको नाफा ५० देखि १०० प्रतिशत भित्रको हाराहारीमा वृद्धि भएको छ । एनबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेड र सानिमा बैंकको नाफा क्रमशः ८०.१७, ७९.२०, ७४.२२, ६५.८६, ६०.५८, ५२.९८ प्रतिशतले बढेको हो । 

नाफा वृद्धिको हिसाबले सबैभन्दा कम सेञ्चुरी कमर्सियल बैंकले नाफातर्फ ०.०७ प्रतिशतको मात्र वृद्धि हासिल गर्यो । लगानीकर्ताले निकै धेरै आशा गरे पनि पछिल्लो समय खस्किदै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १.२१ प्रतिशतले मात्र बढ्यो । यस्तै, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा पनि १.४९ प्रतिशतले मात्र बढ्यो । प्रभूू बैंकले ७.९३, प्राइम कमर्सियल बैंकले १३.८१, एसबीआई बैंकले १७.३३ र नबील बैंकले २१.४२ प्रतिशतले नाफा बढाए । 

यस्तै, कृषि विकास बैंक, माछापुुच्छे बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, लुम्बिनी बैंकले क्रमशः ४६.३२, ४२.६४, ४१.१७, ३५.८४, ३४.३७ र २३.१९ प्रतिशतले नाफा बढाएका छन् । लुम्बिनी बैंक बैंक अफ काठमाण्डूूमा मर्ज भई बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेड भइसकेको छ । 

वाणिज्य बैंकहरुमा तीनवटा बैंकको प्रदर्शन भने कमजो रह्यो । सिभिल बैंकको नाफामा ७०.८९ प्रतिशतको पहिरो गयो भने जनता बैंक नेपाल लिमीटेडको खूद नाफा पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो आबको सोही अवधिमा ५३.६१ प्रतिशतले घट्यो । राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि १७.०८ प्रतिशतले घट्यो   ।