काठमाण्डौ । वाणिज्य बैंकहरुले भद्र सहमतिमार्फत कायम ब्याजदरभन्दा १ प्रतिशत बिन्दू माथि जाने गरी विकास बैंकहरुले ब्याजदरमा सहमतिका लागि बैठक बस्नुअघि नेपाल राष्टबैंकले वाणिज्य बैंकसँगको ब्याजदरको अन्तर ०.५ प्रतिशत बिन्दू मात्र कायम गर्न निर्देशन दिएको छ । 

केन्द्रीय बैंकको यो निर्देशनपछि १ प्रतिशत बिन्दूभन्दा माथिको ब्याजदर कायम गराउने गरी भएको तयारीमा केही फेरबदल हुने भएको छ । 

डेभलपमेन्ट बैंकर्स एशोसिएसनले आह्वान गरेको बैठकले यो समाचार तयार पार्दासम्म सुरु भइसकेको छैन । महालक्ष्मी विकास बैंकको दरबारमार्गस्थित कर्पोरेट कार्यालयको सभाहलमा बैठक डाकिएको छ । 

एक बैंकका सीइओका अनुसार राष्टबैंकले वाणिज्य बैंकले तोकेको दरभन्दा ०.५ प्रतिशत बिन्दू माथि नजान भने पनि त्यसमा केही तलमाथि हुनसक्नेछ । 

विकास बैंकहरुले नेपाल राष्ट्रबैंककै निर्देशन जस्ताको तस्तै कार्यान्वयनमा ल्याउने सहमति गरे भने चाहि उनीहरुले तोक्ने व्यक्तिगत मुद्धतीको ब्याजदर ९.७५ प्रतिशत कायम हुनेछ । यस्तै, संस्थागत मुद्धतीको ब्याजदर ९ प्रतिशत कायम हुनेछ । 

विकास बैंकहरु बचतमा यसअघि दिंदै आएको ७ प्रतिशत ब्याजदर नचलाउने सहमतिमा यसअघि नै पुगिसकेका छन् । 

नेपाल राष्ट्रबैंकको निर्देशनमा नेपाल बैंकर्स संघले बिहीबार बैठक बसेर ब्याजदर घटाउने भद्र सहमति कायम गरेको थियो । जसअनुसार वाणिज्य बैंकले बचतमा ६.५ प्रतिशत, व्यक्तिगत मुद्धतीमा ९.२५ प्रतिशत र संस्थागत मुद्धतीमा ८.५ प्रतिशत ब्याजदर कायम गरेका थिए । 

वाणिज्य बैंकहरुले ब्याजदर बढाएर साढे १३ प्रतिशत पुर्याएपछि अधिकतम साढे १२ प्रतिशतको दरमा बसेका विकास बैंकहरुले ब्याजदर नघटाए आफूहरुले समेत बढाएर १४ प्रतिशत पुर्याउने चेतावनी दिएका थिए । उनीहरुले आइतबारसम्मको अल्टिमेटम समेत दिएका थिए । तर, बिहीबार नै वाणिज्य बैंकबीच भद्र सहमति कायम भएपछि विकास बैंकहरु समेत ब्याजदर घटाउने तयारीमा लागेका हुन् ।