काठमाण्डौ । लामो समयको आन्तरिक तयारीपछि नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकको व्यवस्थापनमा दोश्रो बरियतामा रही काम गर्ने डेपुटी सीइओहरुलाई समेत ६ महिने कुलिङ पिरियड लगाएको छ । 

योसँगै इजाजतपत्र प्राप्त संस्थाका संचालकहरुलाई समेत ६ महिने कुलिङ पिरियड लाग्ने व्यवस्था गरिएको छ । 

आइतबार बैंकहरुलाई निर्देशन जारी गर्दै नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकमा कार्यरत दोश्रो बरियताका पदाधिकारी सेवाबाट हटेपछि ६ महिनाको अवधि व्यतित नभई इजाजतपत्रप्राप्त संस्थाको समान प्रकृतिको पदमा नियुक्ति हुन नपाउने व्यवस्था गरेको हो । 

यसको अर्थ वाणिज्य बैंकमा डेपुटी सीइओ भइसकेको व्यक्तिले जागिर छाडेको ६ महिनासम्म सोही पदमा अर्को संस्थामा काम गर्न पाउने छैन । तर, यो व्यवस्था डेपुटी सीइओको जागिर छाडेर सीइओमा जान पाउने या नपाउने भन्ने बिषयमा भने मौन देखिन्छ । 

यसैगरी, राष्ट्रबैंकले आफूबाट इजाजत दिइएका सबै वर्गका बित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत प्रचलित व्यवस्थाको अधीनमा रही पुनर्नियुक्ति पाएको अवस्था बाहेक जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत  भएपछि कम्तीमा ६ महिनाको अवधि व्यतित नभई कुनै पनि इजाजतपत्र प्राप्त संस्थामा प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था गरिएको छ । 

यस्तै, प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकाल वा ६ महिनामध्ये जुन बढी हून्छ, सो अवधि व्यतित नभई सोही संस्थामा संचालक लगायत अन्य कुनै पनि हैसियतमा कार्य गर्न पाउने छैन । 

राष्ट्रबैंकले संचालकहरुका लागि समेत केही कडा व्यवस्था गरेको छ । जसअनुसार एउटा इजाजतपत्रप्राप्त संस्थामा संचालक रहेको व्यक्ति प्रचलित व्यवस्थाको अधीनमा रही कार्यकाल थप भएको अवस्थामा बाहेक संचालक पदबाट जुनसुकै कारणले हटेमा कम्तीमा ६ महिनाको समय व्यतित नभई अन्य इजाजतपत्रप्राप्त कुनै पनि बित्तीय संस्थामा संचालक लगायत अन्य कुनै पनि हैसियतमा कार्य गर्न नपाउने व्यवस्था समेत गरिएको छ ।