काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा बित्तीय संस्था अति नाफामुखी भएर राष्ट्र तथा जनताप्रतिको जिम्मेवारी र सामाजिक दायीत्व भूलेका आरोप लगाएका छन् । 

उनले बैंकहरुले नाफा मात्रै हेरेका र आफूलाई निजी क्षेत्रको रुपमा गलत व्याख्या गर्दै सामाजिक उत्तरदायीत्व भूल्दै गएका आरोप लगाएका हुन् । 

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको शुक्रबारदेखि सुरु एकीकृत कारोबारको उद्घाटनपछि मन्तव्य राख्ने क्रममा उनले अति नाफामुखी हुन खोज्ने बैंक तथा बित्तीय संस्थालाई राष्ट्रबैंकले कारबाही गर्ने चेतावनी समेत दिए । 

उनले कुस्त कमाउने, तर समाज र जनताको सेवामा खर्च नगर्ने बैंक तथा वाणिज्य बैंकप्रति पनि कडा टिप्पणी गरे । ‘यही माटोबाट लिएपछि दिनुपर्छ भन्ने  चेतना किन नआएको ?’ प्रश्न गर्दै उनले भने–‘तपाईंहरु प्रष्ट हुनुहोस् बैंक निजी क्षेत्र होइन, यो पब्लिक सेक्टर हो । त्यसैले नाफा मात्र हेर्नुहुन्छ भने त्यो तपाईंको महाभूल हो ।’ 

गभर्नर डा. नेपाल वाणिज्य बैंकहरुप्रति बढी आक्रोशित देखिन्थे । उनले विकास बैंकहरु गाउँ–गाउँमा पुगे पनि वाणिज्य बैंकहरुले यस्तो भूमिका निर्वाह गर्न नसकेका र विपन्न वर्गका लागि विनियोजन गर्नुपर्ने कर्जामा समेत जानी–जानी माइक्रोफाइनान्सहरुलाई लुटको खेती संचालन गर्न दिइएको आरोप लगाए । ‘हामीले यसपटकको मौद्रिक नीतिमार्फत २ प्रतिशत विपन्न वर्गमा वाणिज्य बैंक आफैले लगानी गर्नुपर्ने भनेपछि उनीहरुलाई धेरै गाह्रो भएको छ ।’

गभर्नर डा. नेपालले भने–‘अहिलेसम्म वाणिज्य बैंकहरुले सस्तोमा विपन्न वर्गको कर्जा उपलब्ध गराउने र माइक्रोफाइनान्सले त्यही कर्जा जनतालाई महंगो ब्याजदरमा लगाउने गरेका छन् । विपन्न वर्गको यो व्यवस्था विपन्न र दुर्गम क्षेत्रका जनताको हितका लागि हो, हामीले माइक्रो फाइनान्ससँग मिलेर जनता लुट्नलाई यो नीति बनाएका होइनौं ।’

उनले नेपालको बैंक तथा बित्तीय क्षेत्रमा पछिल्लो समय अनुशासनहीनता बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले धेरै सम्झाउँदा समेत बैंकहरुले लगानीमा अझै विविधिकरण गर्न नसकेका दाबी गरे । ‘कृषि प्रधान देश हामी कृषिमै परनिर्भर छौ । २३ अर्बको चामल भारतबाट मगाइरहेका छौ ।’ उनले भने–‘कृषि क्षेत्रको लगानीलाई बढाउनुहोस् । अन्य संभावित क्षेत्रमा लगानीका लागि रिसर्च गर्नुहोस् ।’ 

उनले देशका ६० प्रतिशत जनसंख्या अझै बित्तीय पहुँचबाहिर रहेको जानकारी दिंदै भने–‘बैंकहरुका लागि अवसर धेरै छन्, त्यसलाई पक्रन सिक्नुहोस् । गाउँ र दुर्गम जानुहोस् ।’ 

उनले कुस्त कमाउने, तर समाज र जनताको सेवामा खर्च नगर्ने बैंक तथा वाणिज्य बैंकप्रति पनि कडा टिप्पणी गरे । ‘यही माटोबाट लिएपछि दिनुपर्छ भन्ने  चेतना किन नआएको ?’ प्रश्न गर्दै उनले भने–‘तपाईंहरु प्रष्ट हुनुहोस् बैंक निजी क्षेत्र होइन, यो पब्लिक सेक्टर हो । त्यसैले नाफा मात्र हेर्नुहुन्छ भने त्यो तपाईंको महाभूल हो ।’ 

उनले नाफा मात्र हेर्ने गरेका कारण बैंक तथा बित्तीय संस्थाहरुले कुस्त कमाएर पनि जनता र मुलुकको हितको बिषयमा नसोचेका आरोप लगाए । 

गभर्नर नेपालले लब्धप्रतिष्ठितहरुले खोलेको बैंकमा आफ्नो पैसा सुरक्षित हुन्छ भन्ने भ्रम त्याग्न सर्वसाधारण निक्षेपकर्तालाई आग्रह गरेका छन् । ‘पैसाको मामलामा  यस्तो विश्वास काम लाग्दैन ।’ उनले भने–‘किनभने बैंकहरुमा जनताले राखेको पैसा सबै मेरै हो भन्ने गलत सोंच केही सीइओ र संचालकको रहेको पाइएको छ ।’

उनले कुनै पनि देशको फाइनान्सियल सेक्टरमा स्थानीय नियम लागू नहुने प्रष्ट्याउँदै भने–‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार हामीले चल्नुपर्छ । पैसाको गलत उपयोग बन्द गरिनुपर्छ ।’ 

जनताको निक्षेपमा लुटसँगै संचालन र आइटी जोखिम पनि बढेको भन्दै नेपालका बैंक तथा बित्तीय क्षेत्र पूर्ण सुरक्षित छन् र त्यहाँ निक्षेपकर्ताको रकम पूर्ण सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने निकै ठूलो चुनौति रहेको पनि प्रष्ट्याए ।