काठमाण्डौ । सेयर बादशाह वारेन बफेटलाई पछि पार्दै भारतको रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी विश्वकै पाँचौँ धनी व्यक्ति बन्न सफल भएका छन्।

कोरोनाभाइरस महामारीका कारण एकातिर जहाँ व्यापारव्यवसाय ठप्प भइरहेकै बेला अर्कोतर्फ भने मुकेश अम्बानीको सम्पत्ति दिनप्रतिदिन लगातार बढिरहेको छ। अम्बानीको सम्पत्तिमा केवल ८ दिनमै २.६ अर्ब डलरको बढोत्तरी भएको छ। यसका साथै अम्बानी चिरपरिचित लगानीकर्ता तथा बर्कशायर ह्याथवेका सीईओ वारेन बफेटलाई पनि पछि पार्दै विश्वका धनाढ्याहरुको सूचीमा पाँचौँ स्थानमा उक्लिएका छन्। 

विश्वका शीर्ष ५ धनाढ्या एसियाबाट पर्न सफल मुकेश अम्बानी एकमात्र धनी व्यक्ति पनि हुन्। यसअघि गत जुलाई १४ सम्म उनी विश्वका छैटौँ धनी व्यक्ति थिए। 

फोब्र्सको बिलेनियर्स लिस्टअनुसार अम्बानीको कुल सम्पत्ति ७५ अर्ब डलर भएको छ। अम्बानीको सम्पत्तिका साथै रिलायन्सको बजार पुँजीकरणमा लगातार बढोत्तरी भइरहेको छ। रिलायन्सको बजार पुँजीकरण भारु १२७०४८०.०६ करोडको उचाइमा पुगेको छ। 

रिलायन्सको सेयरमूल्यमा लगातार बढोत्तरी भइरहेको छ। मार्च महिनापछि अहिलेसम्म रिलायन्सको सेयरमूल्य दुईगुणा बढोत्तरी भइसकेको छ। यो कम्पनीको सेयरमूल्य बम्बई स्टक एक्सचेन्जमा बुधबार १.६४ प्रतिशतको उछाल आएको थियो। योसँगै यो कम्पनीको प्रतिकित्ता सेयर भारु २००४.१० पुगेको छ। 

धनाढ्यको सूचीमा अहिले पनि अमेजनका सीईओ जेफ बेजोस अग्रस्थानमा छन्। उनको कुल सम्पत्ति १८५.८ बिलियन डलर रहेको छ।

दोस्रो नम्बरमा बिल गेट्स छन्। उनको कुल सम्पत्ति ११३.१ अर्ब डलर रहेको छ। तेस्रो नम्बरमा ११२ अर्ब डलर सम्पत्तिका साथ बर्नार्ड अर्नाल्ड एन्ड फ्यामिली छन्। यस्तै चौथो नम्बरमा ८९ अर्ब डलरका साथ फेसबुकका संस्थापक मार्क जुकरबर्ग छन्। – एजेन्सी