काठमाण्डौ । साउन महिनाको ब्याजदर निर्धारण गर्न विकास बैंक र फाइनान्स कम्पनीहरुको छाता संगठनहरुको बैठक भोलि शुक्रबार बस्ने भएको छ। 

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन पनि वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघले आज गरेको निर्णयअनुसार नै अगाडि बढ्ने भएको छ। विकास बैंकहरुले पनि ब्याजदरमा भद्र सहमति अन्त्य गर्ने तयारी गरेका हुन्। ‘हामी पहिलेदेखि ब्याजदर बजारले निर्धारण गर्नुपर्छ भन्ने पक्षमा थियौँ’, गरिमा विकास बैंकका सीईओ गोविन्दप्रसाद ढकालले भने, ‘त्यसैले हामीले पनि त्यसरी नै अगाडि बढ्छौँ।’

सीईओ ढकालले साउनको ब्याजदरका विषयमा भोलिको बैठकले निर्णय गर्ने जानकारी दिए। ‘राष्ट्र बैंकले औसतमा १० प्रतिशतले ब्याजदर घटाउन वा बढाउन पाउने व्यवस्था गरेको छ’, उनले भने, ‘सोही व्यवस्थाअनुसार ब्याजदर निर्धारण हुन्छ।’

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिसन (एनबीए)को आज बसेको बैठकले ब्याजदरमा भद्र सहमति अन्त्य गर्दै बैंकहरु आफैँले निर्धारण गर्न सक्ने बाटो खोलिदिएको छ। 

उता फाइनान्स कम्पनीहरुको छाता संगठन नेपाल वित्त संस्था संघले ब्याजदरमा एनएबीले जस्तो खुला गर्ने निर्णय गर्ने पक्षमा छैन। ‘साउनमा ब्याजदर घट्छ तर एनबीएले जस्तो खुला गर्ने निर्णय नहुन सक्छ’, संघका अध्यक्ष सरोजकाजी तुलाधरले भने। 

संघको भोलि बस्ने बैठकले साउनको ब्याजदर निर्धारण गर्ने तुलाधरले जानकारी दिए। ‘बैठक बस्ने समय भने फिक्स्ड भइसकेको छैन’, ती सीईओले भने।