काठमाण्डौ । नेपाल राष्ट्रबैंक विकास बैंकहरुलाई आवश्यक परेको खण्डमा हकप्रद सेयर निश्कासनका लागि बाटो खोलिदिने रणनीतिमा अडिग देखिएको छ । 

एघार दिनअघि सार्वजनिक भएको मौद्रिक नीतिमा विकास बैंकहरुलाई पूँजी वृद्धि गर्न दिने विषयमा नबोलेको केन्द्रीय बैंक संसोधित सर्कुलर जारी गर्दा समेत यो विषयमा मौन देखिएको छ । केन्द्रीय बैंकको यो मौनतालाई विकास बैंकका प्रमुख कार्यकारी अधिकृत र विश्लेषकहरुले सकारात्मक भनेका छन् । 

'मौनम् स्वीकृति लक्षणम' भनिएकै रुपमा राष्टबैंकको मौनतालाई हामीले बुझेका छौं । आवश्यकताका आधारमा अब विकास बैंकहरुलाई हकप्रद निश्कासन गर्न दिइन्छ होला ।' एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले भने-'केही साना विकास बैंकलाई धमाधम हकप्रद निश्कासन गर्न दिइँदैछ । एउटाले पाइसक्यो, नारायणी लगायतले अर्को साता पाउँदैछन् । यसको संकेत अब ठूला विकास बैंकलाई पनि आवश्यक परे हकप्रद सेयर निश्कासन गर्न पाउँछन् भन्ने हो ।'  

विकास बैंकका केही सीइओहरुसँगको अनौपचारिक छलफलका क्रममा पनि राष्ट्रबैंकका अधिकारीहरुले मौद्रिक नीतिमै पनि विकास बैंकहरुको विषयमा नरम नीति लिएको उदाहरण दिंदै हकप्रद सेयर निश्कासन गर्न नरोकिने बताएका थिए । 

विकास बैंकलाई हकप्रद जारी गर्नै नदिने रणनीति हुन्थ्यो भने मौद्रिक नीतिपछि बजारमा यत्ति ठूलो हल्ला भयो, त्यसमा केन्द्रीय बैंक केही बोल्थ्यो । तर, संसोधित निर्देशनमा पनि व्यापक बनेको हकप्रद जारी गर्न दिने विषयमा मौन रहनुले समेत सकारात्मक संकेत दिएको ती अधिकारीको दाबी छ । 

मौद्रिक नीतिपछि उत्पन्न केही अन्यौलहरुको विषयमा कुराकानी गर्न गभर्नर महाप्रसाद अधिकारीले छलफल डाकेका थिए । ती छलफलमा समेत उनले विकास बैंकहरुको पूँजीवृद्धि आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सबै विकल्पमा जानसकिने प्रष्ट भनेका सो छलफलमा सहभागी ती बैंकरले जानकारी दिए । 'गभर्नर साबले हामीसँगको बैठकमा पनि यो विषयमा मिडियासँग धेरै नबोल्नु भन्नुभएको थियो । यो विषयलाई बढी उछालेर सेयर बजारमा खेल्ने काम भएकोमा मात्र गभर्नर असन्तुष्ट हुनुभएको छ ।' ती बैंकरले भने-'चूपचाप हकप्रद निश्कासन गर्न दिने केन्द्रीय बैंकको रणनीति रहेको हाम्रो बुझाई छ । राष्ट्रबैंकले आवश्यक परेको खण्डमा हकप्रद जारी गर्न दिने आशयकै मौद्रिक नीति ल्याइसकेको छ । त्यसलाई थप पुष्टि हुने गरी संसोधित निर्देशन पनि आयो ।ढिलोचाँडो विकास बैंकहरुले हकप्रद निश्कासन गर्ने बाटो खुल्ने भयो।’ 

विकास बैंकका सीइओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)का अधिकारीहरु समेत हकप्रद सेयर निश्कासनको बाटो खुल्ला हुनेमा ढुक्क देखिएका छन्।

बिजशालासँग कुरा गर्दै डिबानका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका सीइओ प्रद्युमन पोखरेलले राष्ट्रबैंकले मौद्रिक नीतिमै विकास बैंकहरुलाई मर्जरमा नलैजान खोजेकोबाट नै बाँकी रहेका संस्थाहरुलाई जोगाउने उद्देश्य प्रष्ट देखिएको बताए । ‘केन्द्रीय बैंकले मौद्रिक नीतिमा विकास बैंकहरुले हकप्रद जारी गर्न नपाउने भनेर कहीँ भनेको छ र ?’ उनले बिजशालासँग भने–‘विकास बैंकहरुको पूँजीको आकार ठूलो नभई त्यस्ता संस्था बाँच्न सक्दैनन् । तसर्थ हकप्रदबाट पूँजी वृद्धि गर्ने  विकल्पमा समेत जानुपर्ने आवश्यकता छ।’ 

बिजिनेश बढ्दै गएपछि विकास बैंकलाई बचाउने हो भने राइट सेयरको बाटो खुल्लै राख्नुको विकल्प नै नभएको दाबी गर्छन् । ‘जब आवश्यकता पर्छ, तब राष्ट्रबैंकले हकप्रद जारी गर्न दिन्छ भन्ने विश्वास छ ।’ पोखरेलले थपे–‘हामी यो विषयमा राष्ट्रबैंकलाई घचघच्याइराख्छौं।’

डिबानका पूर्वअध्यक्ष तथा गरिमा विकास बैंकका सीइओ गोविन्दप्रसाद ढकालले राष्ट्रबैंकले हकप्रद जारी गर्न बाटो नखोले विकास बैंकहरुको विजिनेश नै ठप्प हुने बताउँछन् । ‘अब सबै विकास बैंकहरुलाई पूँजी बढाउन दिनुपर्छ र अझ सवल र प्रतिस्पर्धी बनाइनुपर्छ ।’ उनले बिजशालासँग भने–‘केन्द्रीय बैंकले पनि विकास बैंकहरुले हकप्रद जारी गर्न नै नपाउने भनेको छैन। यत्ति हो यही विषयलाई उछालेर बजारमा कसैले खेल्नु भएन ।’