काठमाण्डौ । विकास बैंकहरुले भदौका लागि ब्याजदर नघटाउने भएका छन् । 

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुबीच अनौपचारिक रुपमा यस्तो सहमति बनेको हो । 

राष्ट्रिय स्तरका विकास बैंकका एक सीइओका अनुसार भदौका लागि निक्षेपको ब्याजदर नघटाउने र सकेसम्म साउनकै दरलाई निरन्तरता दिने सहमति बनेको छ । 

‘हामी विकास बैंकका सीइओहरुबीच हिजो ह्वाट्सअपमा कुराकानी भएको थियो । जहाँ साथीहरुले साउनको ब्याजदरलाई नघटाउने र सकेसम्म यथास्थितिमै राख्ने अनौपचारिक सहमति गर्नुभएको छ ।’ती सीइओले बिजशालासँग भने–‘तर वाणिज्य बैंकहरुले रेट बढाए भने हाम्रो पनि केही लाग्दैन, ब्याजदर बढाउनुको विकल्प हुँदैन ।’ 

यही विषयमा औपचारिक निर्णय गर्नका लागि विकास बैंकका सीइओहरुबीच आज दिउँसो ३ बजे छलफल हुँदैछ । सोबेलासम्म वाणिज्य बैंकको समेत निर्णय आउने र त्यसकै आधारमा थप निर्णय हुने ती सीइओले जानकारी दिए । 

विकास बैंकहरुले साउनकै दरलाई निरन्तरता दिने अनौपचारिक सहमति गरे पनि कतिपय वाणिज्य बैंकका सीइओ भने निक्षेप जोगाउनका लागि ब्याजदर बढाएर जानुपर्ने निश्कर्षमा पुगेका छन् । यो विषयमा वाणिज्य बैंकका सीइओहरुबीच पनि छलफल चलिरहेको स्रोतहरुको भनाई छ ।