काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबीच ब्याजदर घटाउने दौड सुरु भएको देखिएको छ । 

पुसका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले मंसिरको तुलनामा निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन् । 

निक्षेपको ब्याजदर घटेसँगै यसले बैंकहरुको स्रोतका लागि गर्ने खर्च घटाउँछ, जसको प्रभाव आधारदरमा पर्छ । निक्षेपको ब्याजदर घटाउँदा आधार दर सस्तिन्छ । बैंकहरुले लोन प्रवाह गर्दा आधारदर वा त्यसमा प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने हुनाले ऋणको ब्याजदर पनि बिस्तारै घट्न थाल्छ । 

यसरी निक्षेपको ब्याजदर घट्नु समग्र प्रणालीकै ब्याजदर घट्नु पनि हो । यही बाटोतर्फ बैंक तथा वित्तीय संस्थाहरु आक्रामक देखिएका छन् । 

वाणिज्य बैंकसँग विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । 

राष्टिय स्तरका विकास बैंकहरुले आवश्यकताअनुसार ब्याजदर घटबढ गरेका छन् । 

मुक्तिनाथ विकास बैंकले पुसका लागि ब्याजदर घटाएर प्रकाशित गरेको छ । यो बैंकले मुद्दति निक्षेपको व्यक्तिगततर्फको ब्याजदर अधिकतम ९.२५ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ७.२५ प्रतिशत ।

तीन र महिने अवधिको मुद्दति निक्षेपको ब्याजदर ८.५० प्रतिशत तोकिएको छ । यस्तै, ९ महिने अवधिको ८.७५ प्रतिशत, एक वर्षे अवधिको ९ प्रतिशत, एकदेखि  १० वर्ष अवधिको ९.२५ प्रतिशत ब्याजदर तोकिएको छ । 

संस्थागततर्फ ६ महिनेको ६.५०, ९ महिनेको ६.७५, १ वर्षेको ७ र एकदेखि दश वर्षे अवधिको ७.२५ प्रतिशत तोकिएको छ।

बचत खाताको अधिकतम ब्याजदर ६.२५ प्रतिशत तोकिएको छ भने कर्जाका लागि आधारदरमा अधिकतम ४.५ प्रतिशतसम्म प्रिमियम तोकिएको छ । कात्तिकका लागि यो बैंकको आधारदर ११.३२ प्रतिशत रहेको छ । 

सांग्रीला डेभलपमेन्ट बैंकले पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिने अवधिका लागि ९ प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिका लागि ९.१५ प्रतिशत र एकवर्षे वा सोभन्दा बढी अवधिका लागि ९.२५ प्रतिशत ब्याजदर तोकेको छ । 

संस्थागत मुद्दति निक्षेपतर्फ पनि अधिकतम ब्याजदर ७.२५ प्रतिशत रहेको छ । 

बचत खाताको ब्याजदर अधिकतम ६.२५ प्रतिशत छ भने यो बैंकबाट कर्जा लिँदा मुक्तिनाथ वा अन्य केही बैंकभन्दा सस्तो पर्न जान्छ । यो बैंकको कात्तिकको आधार दर ११.१७ प्रतिशत रहेको छ । कर्जाका लागि बैंकले अधिकतम ३.९९ प्रतिशत मात्रै प्रिमियम तोकेको छ । 

गरिमा विकास बैंकको पनि व्यक्तिगत मुद्दतितर्फको अधिकतम ब्याजदर ९.२५ प्रतिशत नै छ भने संस्थागत ७.२५ प्रतिशत रहेको छ । बचततर्फ ४.२५ प्रतिशत रहेको छ । 

यो बैंकमा ६ महिनाभन्दा कम अवधिको मुद्दति निक्षेपका लागि ९ प्रतिशत, ६ महिनादेखि एकवर्षे अवधिका लागि ९.१५ प्रतिशत, एक वर्ष वा सोभन्दा बढी अवधिका लागि ९.२५ प्रतिशत ब्याजदर पाइन्छ । 

यो बैंकको कात्तिक महिनाको आधारमा दर ११.२६ प्रतिशत रहेको छ । बैंकले आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम राखेर कर्जाको ब्याजदर निर्धारण गरेको छ । 

महालक्ष्मी विकास बैंकले ३ देखि ६ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८ प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिका लागि ८.५० प्रतिशत, १ देखि २ वर्ष अवधिका लागि ९ प्रतिशत र २ वर्ष वा सोभन्दा बढी अवधिका लागि ९.२५ प्रतिशत ब्याजदर तोकेको छ । 

संस्थागत मुद्दतितर्फ ६ महिनादेखि १ वर्षे अवधिका लागि ६.५० प्रतिशत, एकदेखि २ वर्ष अवधिका लागि ७ प्रतिशत र २ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । 

बचतको ब्याजदर अधिकतम ६.२५ प्रतिशत तोकिएको छ । 

यो बैंकको औसत आधार दर ११.१६ प्रतिशत रहेको छ । कर्जाका लागि बैंकले आधारदरमा अधिकतम ३.७५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्नेछ । 

साइन रेसुंगा डेभलपमेन्ट बैंकले व्यक्तिगत मुद्दतितर्फ ३ महिने, ६ महिनादेखि १ वर्ष र एकवर्ष वा सोभन्दा बढी अवधिका लागि क्रमशः ९.१५, ९.१५ र ९.२५ प्रतिशत ब्याजदर तोकेको छ । 

संस्थागततर्फ ६ महिनादेखि १ वर्षसम्मका लागि ६.१५ र एक वर्ष वा सोभन्दा बढी अवधिका लागि ७.२५ प्रतिशत तोकेको छ । 
बचतको अधिकतम ब्याजदर ६.२५ प्रतिशत छ ।

यो बैंकको कात्तिकको आधारदर १०.९६ प्रतिशत छ । कर्जा दिंदा आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्न सकिने बैंकले जनाएको छ । 

कामना सेवा विकास बैंकले बचत खातामा सबैभन्दा धेरै ६.४५ प्रतिशत ब्याजदर तोकेको छ । 

यस्तै, मुद्दति निक्षेपतर्फ पनि सबैभन्दा बढी ९.६० प्रतिशत तोकिएको छ । व्यक्तिगतका लागि ३ देखि ६ महिनासम्मको ब्याजदर ८.२५ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि ९.१५ प्रतिशत, १ देखि २ वर्ष अवधिका लागि ९.२५ प्रतिशत, २ देखि ५ वर्षे अवधिका लागि ९.५५ प्रतिशत र ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ९.६० प्रतिशत ब्याजदर तोकिएको छ । 

संस्थागततर्फ ६ महिनादेखि १ वर्ष अवधिका लागि ७.५० र एक वर्ष वा सोभन्दा बढी अवधिका लागि ७.६० प्रतिशत ब्याजदर तोकिएको छ । 

यो बैंकको कात्तिकको आधारदर ११.५२ प्रतिशत छ । कर्जाको ब्याजदरमा बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम जोड्नसक्ने बताएको छ । 

लुम्बिनी विकास बैंकले व्यक्तिगत मुद्दतितर्फ ३ देखि ६ महिनाका लागि ८.७५ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि ९ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधिका लागि ९.२५ प्रतिशत ब्याजदर तोकेको छ । 

संस्थागतर्फ ६ महिनादेखि १ वर्षे अवधिका लागि ७ तथा एक वर्ष वा सोभन्दा बढी अवधिको प्रडक्टका लागि ७.२५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ ।

बचतको ब्याजदर अधिकतम ६.२५ प्रतिशत तोकिएको छ ।

यो बैंकको कात्तिकको आधार दर ११.७० प्रतिशत छ । आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम जोडेर यो बैंकले कर्जाको ब्याजदर निर्धारण गरेको छ । 

ज्योति विकास बैंकले व्यक्तिगत मुद्दतितर्फ ३ महिने अवधिको वार्षिक ब्याजदर ८ प्रतिशत, ६ महिनादेखि एकवर्षे अवधिका लागि ८.५० प्रतिशत र एक वर्षे वा सोभन्दा बढी अवधिका लागि ९.२५ प्रतिशत ब्याजदर तोकिएको छ । 

संस्थागततर्फ ६ महिनादेखि एकवर्षे अवधिका लागि ६.५० प्रतिशत र एक वर्षे वा सोभन्दा बढी अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर तोकिएको छ । 

बैंकले बचततर्फको ब्याजदर अधिकतम ६.२५ प्रतिशत तोकेको छ । 

यो बैंकको कात्तिकको आधार दर ११.५८ प्रतिशत रहेको छ । आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने हुँदा यो बैंकबाट ऋण लिँदा अन्य केहीमा झै महङ्गो पर्न जान्छ ।