काठमाण्डौ । वाणिज्य बैंकहरुले ब्याजदरमा भद्र सहमति गरेसँगै विकास बैंकहरु पनि ब्याज घटाउने दवाबमा परेका छन् । यसैको फलस्वरुप विकास बैंकहरुको बैठक आज २ बजे बस्ने भएको छ । 

दरबारमार्गस्थित कैलाश विकास बैंकको सभाहलमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठक डाँकिएको हो । 

बैठक मुख्य रुपमा ब्याजदर घटाउने बिषयमा केन्द्रीत हुने एशोसिएसनका एक सदस्यले जानकारी दिए । 

उनका अनुसार बैठक बस्नुअघि विकास बैंकका सीइओहरुबीच वाणिज्य बैंकले कायम गरेको नयाँ ब्याजदर भन्दा १ प्रतिशत बढी राखेर नयाँ ब्याजदर कायम गर्ने मौखिक सहमति छ । 

यो हिसाबले विकास बैंकहरुले व्यक्तिगत मुद्धतीमा १०.२५ प्रतिशत ब्याजदर कायम गर्नुपर्नेछ । यस्तै, संस्थागत मुद्धतीतर्फ ९.५ प्रतिशत र बचतमा हाल कायम ७ प्रतिशतमै रहने  संभावना छ । 

नेपाल राष्ट्रबैंकको निर्देशनमा नेपाल बैंकर्स संघले बिहीबार बैठक बसेर ब्याजदर घटाउने भद्र सहमति कायम गरेको थियो । जसअनुसार वाणिज्य बैंकले बचतमा ६.५ प्रतिशत, व्यक्तिगत मुद्धतीमा ९.२५ प्रतिशत र संस्थागत मुद्धतीमा ८.५ प्रतिशत ब्याजदर कायम गरेका थिए । 

वाणिज्य बैंकहरुले ब्याजदर बढाएर साढे १३ प्रतिशत पुर्याएपछि अधिकतम साढे १२ प्रतिशतको दरमा बसेका विकास बैंकहरुले ब्याजदर नघटाए आफूहरुले समेत बढाएर १४ प्रतिशत पुर्याउने चेतावनी दिएका थिए । उनीहरुले आइतबारसम्मको अल्टिमेटम समेत दिएका थिए । तर, बिहीबार नै वाणिज्य बैंकबीच भद्र सहमति कायम भएपछि विकास बैंकहरु समेत ब्याजदर घटाउने तयारीमा लागेका हुन् ।