काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक संस्थामा आरएसडिसी लघुवित्त वित्तीय संस्था बनेको छ। 

आरएसडिसी लघुवित्तले आज चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो। समीक्षा अवधिमा संस्थाले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०१.९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ११२.८६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ५६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ५ करोड ४६ लाख रुपैयाँ पुगेको छ। 

पहिलो त्रैमासमा संस्थाले ७ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ४८ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ११९.३३ प्रतिशतले उकालो लागेको छ। 

चुक्तापुँजी ८० करोड ५१ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार ४१.३१ प्रतिशतले बढेर ९ करोड ७४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ५ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ८६ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ०.६० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ०.२६ प्रतिशतमा सीमित थियो। 

वार्षिकीकृत संस्थाको ईपीएस बढेर १८.९९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको ईपीएस १०.३४ रुपैयाँमा सीमित थियो। पीई रेसियो २५.५९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६.९६ रुपैयाँ रहेको छ।