काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा २६.७८ प्रतिशतले बढाउन सफल भएको छ।

चौथो त्रैमास वितरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ११ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ८ करोड ७५ लाख खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ३० करोड १५ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षममा २३ करोड ९४ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा १७ करोड ३३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १३ करोड ३५ लाखमात्र रहेको थियो। 
समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि २ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष १ करोड ६१ करोड रुपैयाँ रहेको थियो । 

यस अवधिमा संस्थाले १ अर्ब ९२ करोड सापटी लिई ३ अर्ब ५६ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा १ अर्ब ५० करोड सापटी लिई २ अर्ब ६७ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष पनि संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ नै रहेको थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ७७.५२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २४ करोड ४६ लाख जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा १३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी ४५.८४ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात रु. १४.४२, प्रतिसेयर नेटवर्थ रु. २०१.११ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु. १५९२.९७ रहेको छ ।