काठमाण्डौ । एनएमबी बैंकले एकहजार युवालाई स्वरोजगार बनाउने उद्देश्यले राष्ट्रिय युवा परिषद र रिटर्नी माइग्रेन्ट नेपालबीच सहुलियत दरको कर्जा प्रवाहको बिषयमा एक महत्वपूर्ण सम्झौता गरेको छ ।
बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलश्रोत र विज्ञान तथा प्रविधि क्षेत्रहरुमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र युवा उद्यमशिलता प्रबद्र्घन गर्ने उद्देश्यका साथ त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यसअन्तर्गत तीनै पक्षहरुले आपसी सहकार्यमा नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि,२०७५ कार्यान्वयनमा सहयोग पुग्ने र उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोडी रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने योजना रहेको छ ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई राष्ट्रिय युवा परिषदको समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसका आधारमा बैंकले प्रति ब्यक्ति अधिकतम रु. १० लाखसम्म परियोजना धितोमा कर्जा प्रवाह गर्ने गरी हाललाई रु १ अरब सम्म ऋण प्रवाह गर्ने र माग र आवश्यक्ताको आधारमा बढाउँदै लाने गरी त्रिपक्षीय सम्झौता भएको हो । यसरी १ अर्ब कर्जा प्रवाह हुँदा १ हजार युवा स्वरोजगार बन्ने र त्यसबाट थप रोजगारीको अवसरहरु सिर्जना हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको भनाई छ ।
केसीका अनुसार यो खालको सम्झौता संभवत नेपालमै पहिलोपटक भएको हो । अन्य वाणिज्य बैंकले पनि विदेशबाट सीप फर्किएका युवालाई १० लाखसम्म परियोजना धितोमा राखेर कर्जा प्रवाह गर्न थालेका भए पनि यही विषयमा केन्द्रीत भई स्पष्ट योजनासहित १ अर्बसम्मको कर्जा प्रवाहको घोषणा गर्ने एनएमबी बैंक पहिलो वाणिज्य बैंक समेत बनेको छ ।
त्यसैगरि, बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ भित्र नपर्ने कर्जाहरुको हकमा समेत बैंकले त्रिपक्षीय सम्झौता बमोजिम कर्जा प्रवाह गर्ने बताइएको छ ।
यसबाहेक बैंकले त्यस्ता संभावित ऋणीहरुलाई परियोजना संचालनका लागि सुझाब तथा सल्लाह प्रदान गर्ने, आवश्यक तालिमको ब्यवस्था गर्ने, त्यस्ता यूवाहरुलाई लक्षित गरी निक्षेप तथा कर्जाका प्रोडक्टहरु बनाउने र बजारको पहुँचलाई सहजिकरण गराउने तर्फ केन्द्रीय स्तरमा एक छुट्टै डेस्कको स्थापना गरी बैंकका शाखाहरु मार्फत सेवा प्रदान गरिने सीइओ केसीले जानकारी दिए ।
विदेशमा छरिएर रहेका युवा जनशक्ति स्वदेशमै फर्किन प्रेरित गर्ने र त्यहाँ आर्जित सीपलाई आफ्नै देशमा सदुपयोग गरी रोजगारी श्रृजना गराउँदै देशलाई समृद्घि तर्फ उन्मुख गराउन मद्दत पुग्ने तीनै पक्षको धारणा रहेको छ ।
यस्ता कार्यक्रमले नेपालमै स्वरोजगार र रोजगारीका अवसरहरु सिर्जना गरी युवा उद्यमशीलतालाई प्रबद्र्धन गर्देै युवाहरुको वैदेशिक पलायनलाई घटाउँदै लैजाने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए।
‘यो अभियान राज्य एक्लैले पुरा गर्न सक्ने अवस्था छैन । त्यसर्थ यसको लागि बैंक, वित्तीय संस्थाहरु, अन्य विभिन्न संघ संस्थाहरु समेतको एकीकृत र सार्थक प्रयास जरुरी हुन्छ ।’ ढुंगेलले भनेका छन्–‘सबैको प्रयासबाट मुलुकका ४०.३५ प्रतिशत हिस्सा रहेका युवा जनशक्तिको परिचालन र स्वदेशमै श्रम गर्ने वातावरण निर्माण गर्न सके सुखी नेपाली र समृद्घ नेपालको राष्ट्रिय संकल्पले सार्थकता पाउन सक्छ भन्ने मान्यतामा दृढ विश्वास गर्दै यो त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको हो ।’
सम्झौतामा बैंकको तर्फबाट सीइओ केसी, परिषदका तर्फबाट उपाध्यक्ष ढुंगेल र रिटर्नी माइग्रेन्ट नेपालको तर्फबाट अध्यक्ष उत्तम अधिकारीले हस्ताक्षर गरेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19