काठमाण्डौ । विदेशी लगानीमा संचालित नेपालका बैंकहरुले आर्थिक वर्ष २०७२/७३ को अवधिमा स्वदेशीको तुलनामा खासै राम्रो प्रगति गरेनन् । नेपाल राष्ट्रबैंकको पूँजी वृद्धिको योजनाप्रति प्रारम्भदेखि नै विरोध गर्दै आएका उनीहरुमध्ये केहीले जनताको विश्वास समेत गुमाउँदै गएका देखिएको छ । कतिपयको व्यापार खुम्चिएको छ भने समग्र बित्तीय अवस्था समेत धराप बन्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ मा नेपालका उच्च पदस्थहरुको सूचना बैकिङ बाहानामा भारतसम्म पुर्याउने गरेको आरोप खेपेको एभरेष्ट बैंकको प्रगति खासै देखिएन । स्ट्याण्डर्ड चार्टर्डको अवस्था त झनै नाजुक देखिएको छ भने नेपाल एसबीआई बैंक लिमीटेडको नाफा सन्तोषजनक देखियो । 

हामीले ठूलो विदेशी लगानी रहेका यी तीन बैंकहरुले आर्थिक वर्ष २०७२/७३ मा कस्तो प्रगति गरे, केलाउने प्रयास गरेका छौ :

कसको चुक्तापूँजी कति ?
नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकहरुको चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने नीति लागू गरेका कारण स्वदेशी बैंकहरुलाई सोही अनुसार पूँजी वृद्धि गर्ने चटारो देखिए पनि विदेशी लगानीका बैंकहरुले भने यसमा उदासीनता देखाएका छन् । यी तीनवटै बैंकहरुले प्रारम्भदेखि नै चुक्तापूँजी बढाउने नीतिको विरोध गर्दै आएका छन् । ०७४ असार मसान्त आउन २३ महिना बाँकी छँदा यी बैंकहरुले पूँजी वृद्धि(क्यापिटल प्लान)को स्पष्ट खाका समेत दिन सकेका छैनन् । यही कारण चुक्तापूँजी बढाउनेतर्फ आर्थिक वर्ष २०७२/७३ मा यी तीनवटै बैंकहरुको प्रस्तुती अटेरीपनबाट प्रेरित देखियो । 

जस्तो, नेपाल एसबीआई बैंकको चुक्तापूँजी ३ अर्ब ८८ करोडमै स्थिर रह्यो । स्ट्याण्डर्ड चार्टर्डको चुक्तापूँजीमा पनि खासै भिन्नता देखिएन । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८१ करोड २ लाख चुक्तापूँजी रहेकोमा आब २०७२/७३ मा २ अर्ब ८१ करोड २४ लाख रुपैयाँ रह्यो । यसको अर्थ यो बैंकले एक वर्षको अवधिमा चुक्तापूँजीतर्फ २२ लाखको झिनो प्रगति मात्र गर्यो । 

एभरेष्ट बैंकले समेत चुक्तापूँजी वृद्धिमा खासै ध्यान दिएको देखिएन । हुन त यो बैंकले १ अर्ब बराबरको हकप्रद ल्याएर चुक्तापूँजी पुर्याउने जमर्को कसेको सूचना केही समयअघि सार्वजनिक गरेको थियो । तर नेपाल राष्ट्रबैंकको पूँजीवृद्धिको नीतिको अन्तर्य भनेको आफैंले पूँजी पुर्याउने भन्दा पनि बैंक तथा बित्तीय संस्थाहरुको संख्या सकेसम्म घटाउने हो । यसका लागि राष्ट्रबैंकले मर्जर वा एक्वीजिसनलाई जोड दिएको छ । तर, एभरेष्ट बैंक वा अन्य विदेशी लगानीका बैंकले यो पाटोतर्फ ध्यान दिएका छैनन् । कतिपय गोप्य र गैरकानूनी कारोबारहरुको पोल खुल्ने भएकोले समेत एभरेष्ट बैंकले स्वदेशी संस्थाहरुलाई एक्वायर गर्ने वा मर्जरमा जानेतर्फ ध्यान नदिएको देखिन्छ । एभरेष्ट बैंकको चुक्तापूँजी पनि २ अर्ब ७४ करोड मात्र रह्यो । जुन अघिल्लो आबको तुलनामा शून्य बराबरको प्रगति हो । 

सञ्चित कोषको प्रगति
विदेशी लगानीका बैंकहरुले रिजर्ब र सरप्लसमा भने राम्रै प्रगति गरेका देखिएको छ । स्ट्याण्डर्ड चार्टर्डको आब २०७२ ७३ मा रिजर्ब र सरप्लसमा ४ अर्ब  ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आबको चौथो त्रैमासमा यो बैंकको रिजर्ब र सरप्लस ३ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । 

यसैगरी, नेपाल एसबीआई बैंकले चाहि रिजर्ब र सरप्लसमा झण्डै दुई गुणाको वृद्धि हासिल गरेको छ । आब ०७१ ७२ मा १ अर्ब ७६ करोड रुपैयाँ रहेको रिजर्ब आब २०७२ ७३ को चौथो त्रैमासमा ३ अर्ब ९ करोड पुगेको छ । एभरेष्ट बैंकको सञ्चित कोषमा ५ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । 

निक्षेपतर्फको प्रगति
नेपाल एसबीआई बैंकले ६५ अर्ब ११ करोड निक्षेप संकलन गरेको छ । अघिल्लो वर्र्ष ५१ अर्ब ६२ करोड निक्षेप संकलन गरेको थियो । यो हिसाबले निक्षेपतर्फ राम्रै प्रगति भएको देखिन्छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप संकलन भने खुम्चिएको छ । अघिल्लो वर्ष ५७ अर्ब २८ करोड निक्षेप संकलन गरेकोमा यो वर्ष घटेर ५५ अर्ब ७२ करोड रुपैयाँमा झरेको छ । 

एभरेष्ट बैंकले निक्षेपतर्फ सन्तोषजनक नै प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षमा ८३ अर्ब ९ करोड निक्षेप संकलन गरेकोमा यो वर्ष ९३ अर्ब ७३ करोड संकलन गर्न सफल भएको छ । 

कर्जा प्रवाहतर्फ
एभरेष्ट बैंकले अघिल्लो वर्ष ५५ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको थियो भने यो वर्ष ६८ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ । 

यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आबमा यो बैंकले २८ अर्ब २ करोड कर्जा प्रवाह गरेको थियो । 

नेपाल एसबीआई बैंकले यो वर्ष ४६ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष चाहि ३९ अर्ब ९७ करोड कर्जा प्रवाह भएको थियो । 

खूद ब्याज आम्दानी कस्तो ?
खूद ब्याज आम्दानीमा जति राम्रो प्रगति भयो, त्यति नै सो कम्पनीको कोर विजिनेश बढेको मानिन्छ । यो अर्थमा नेपाल एसबीआई बैंकले २ अर्ब ४१ करोड खूद ब्याज आम्दानी गरेको छ । यो बैंकले अघिल्लो आबमा १ अर्ब ७३ करोड मात्र खूद ब्याज आम्दानी गरेको थियो । 

यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो वर्ष १ अर्ब ८५ करोड खूद ब्याज आम्दानी गरेको छ । आब २०७१/७२ मा यो बैंकको खूद ब्याज आम्दानी १ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । यसको अर्थ स्ट्याण्डर्ड चार्टर्डको कोर विजिनेश घटेको र ओरालो लागेको देखिन्छ । 

एभरेष्ट बैंकले अघिल्लो आबमा २ अर्ब ८७ करोड खूद ब्याज आम्दानी गरेकोमा यो वर्ष ३ अर्ब  २२ करोड रुपैयाँ पुर्याएको छ । 

संचालन नाफा
नेपाल एसबीआई बैंकले संचालन आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब बढी संचालन नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकको संचालन नाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । 

यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको संचालन मुनाफा भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८२ करोड रुपैयाँ रहेको संचालन मुनाफा आब २०७२/७३ मा घटेर १ अर्ब ६७ करोडमा झरेको छ । 

एभरेष्ट बैंकले अघिल्लो वर्ष २ अर्ब २५ करोड रुपैयाँ संचाल नाफा गरेकोमा यो वर्ष २ अर्ब ६६ करोड मात्र संचालन नाफा आर्जन गरेको छ । 

खूद नाफा
आर्थिक वर्ष २०७२/७३ मा एभरेष्ट बैंकले खूद नाफामा सामान्य मात्र बढोत्तरी गर्न सकेको छ । यो वर्ष यो बैंकले १ अर्ब ७३ करोड रुपैयाँ मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ५४ करोड नाफा आर्जन गरेको थियो । 

यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको खूद नाफा समेत घटेको देखिएको छ । अघिल्लो आबमा १ अर्ब २९ करोड खूद नाफा रहेकोमा घटेर यो वर्ष १ अर्ब २६ करोडमा झरेको हो । 

एसबीआई बैंकले खूद नाफामा सन्तोषजनक नै प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ६ करोड खूद नाफा रहेकोमा यो वर्ष बढेर १ अर्ब ३३ करोड पुगेको हो । 

प्रति सेयर आम्दानी
एभरेष्ट बैंकको प्रति सेयर आम्दानी घटेको छ । अघिल्लो वर्ष ७८.०४ रुपैयाँ रहेको प्रति सेयर आम्दानी घटेर यो वर्ष ६५.९७ रुपैयाँमा आइपुगेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि प्रति सेयर आम्दानी घटेको छ । अघिल्लो आबमा ५७.३८ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष ४५ रुपैयाँमा झरेको हो । 

नेपाल एसबीआई बैंकको प्रति सेयर आम्दानी ३४.२९ रुपैयाँ कायम भएको छ । 

प्रति सेयर नेटवर्थ
एभरेष्ट बैंकको प्रति सेयर नेटवर्थ ३२३.८१ रुपैयाँ रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ सय ५६ रुपैयाँ रहेको छ । स्ट्याण्डर्डको गत आबको प्रति सेयर नेटवर्थको तुलनामा यो वर्ष नेटवर्थ घटेको हो । अघिल्लो आबमा प्रति सेयर नेटवर्थ २६५ रुपैयाँ थियो । 

नेपाल एसबीआई बैंकको प्रति सेयर नेटवर्थ चाहि १७९.६७ रुपैयाँ रहेको छ । 

कसको मूल्य-आम्दानी अनुपात कति ?
सेयर लगानी गर्दा हेर्नुपर्ने विभिन्न पक्षमध्ये एउटा पक्ष मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो पनि हो । कम्पनीको पीई रेसियो जति कम भयो, उति नै त्यसको सेयर लगानी योग्य हुन्छ । सोमबारको सेयर मूल्यको आधारमा एभरेष्ट बैंकको पीई रेसियो ४८.३५ गुणा निस्किन्छ । यसको अर्थ, एभरेष्ट बैंकको सेयरमा लगानी गर्नु निकै जोखिमपूर्ण छ । 

नेपाल एसबीआई बैंकको पीई रेसियो त अझै धेरै छ । सोमबारको अन्तिम सेयर मूल्यलाई यो बैंकको प्रति सेयर आम्दानीले भाग गर्दा ५४.६८ गुणा पीई रेसियो निस्किन्छ । यसको अर्थ एसबीआईको सेयर पनि लगानीका लागि निकै खराब रहेको मान्न सकिन्छ । 

स्ट्याण्डर्ड चार्टर्डको अवस्था त अझ नाजुक देखिएको छ । यसको पीई रेसियो ७५.५५ गुणा रहेको छ । यसको अर्थ यो बैंक बित्तीय रुपमा निकै नाजुक र कमजोर रहेको र यसको सेयरमा लगानी अति नै जोखिमपूर्ण रहेको मान्न सकिन्छ ।