काठमाण्डौ । देशको आर्थिक अवस्था फेरि बिग्रिन थालेको छ ।
नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्टकार्ड अनुसार महंगीले डाँडा काट्न थालेको देखिएको छ भने फेरि विदेशी मुद्राको सञ्चिती घट्न थालेको छ ।
शोधानान्तर घाटा साउनभन्दा भदौमा अझ बढेको छ भने निर्यातको अवस्था पनि निराशाजनक नै छ ।
२०७९ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई रु.१८७ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा चालु खाता रु.३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१०६ अर्ब ८ करोडले घाटामा रहेको थियो ।
साउनसम्म चालु खाता रु.१६ अर्ब २६ करोडले घाटामा थियो ।
यस्तै, साउन मसान्तसम्म २२ अर्ब ६३ करोडले घाटामा रहेको शोधानान्तर स्थिति भदौ मसान्तसम्ममा भने रु.२३ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९४ अर्ब ८० करोडले घाटामा रहेको थियो ।
२०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा रु.११८९ अर्ब १६ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ ।
साउन मसान्तमा भने विदेशी विनिमय सञ्चिती रु.११९७ अर्ब ८५ करोड कायम भएको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ४२ करोड कायम भएको थियो ।
आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
साउनमा भने आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको थियो ।
आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु निर्यात ३४.९ प्रतिशतले कमी आई रु.२८ अर्ब ६८ करोड पुगेको छ भने कुल वस्तु आयात १३.० प्रतिशतले कमी आई रु.२७३ अर्ब ६० करोड पुगेको छ । साउन मसान्तसम्ममा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई रु.१४ अर्ब ८१ करोड तथा कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई रु.१३१ अर्ब २९ करोड पुगेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago