काठमाण्डौ । भारतीय नागरिकले विदेशी बैंक खातामा भएको आफ्नो रकम धमाधम झिकिरहेका छन् । भारतीय मिडियाका अनुसार विदेशी बैंकहरुले खाता बन्द गर्न अनुरोध गरेपछि भारतीय नागरिकले पैसा झिक्न सुरु गरेका हुन् । 

विदेशी नागरिकलाई बैंकहरुले न्यूनतम रकम वृद्धि गर्नुलाई यसको मुख्य कारण मानिएको छ । यसका साथै भारतको केन्द्रीय बैंक(आरबीआई) ले पनि विदेशमा भएको निष्कृय रकममाथि निगरानी बढाएको छ । 

यहि कारण विदेशी बैंकले भारतीय नागरिकको खाता बन्द गरिरहेको समाचार उल्लेख छ । पछिल्लो दुई महिनामा बेलायतका दुई ठूला बैंक,स्विट्जरल्याण्डको एक बैंक र यूएईको एउटा ठूलो वित्तीय संस्थाले दुई दर्जनभन्दा बढी भारतीयको खाता बन्द गरेका थिए । 

सेवा प्रदायक र करसँग सम्बन्धित व्यक्तिहरुले यसबारे जानकारी दिएको उल्लेख गरिएको छ । यी भारतीयहरुले आरबीआईको उदार रेमिट्यान्स स्कीम(एलआरएस) अन्तर्गत विदेशमा फण्ड ट्रान्सफर गरेर खाता खोलेका थिए । यो स्किम अन्तर्गत वर्षमा २ लाख ५० हजार डलरसम्म विदेशमा लगानी गर्न सकिन्छ । 

अहिले केहि विदेशी बैंकले न्यूनतम रकम १० लाख डलर कायम गरेका छन् । तर एलआरएसको सीमाका कारण भारतीय नागरिकले धेरै मात्रामा विदेशमा पैसा पठाउन/लैजान सक्दैनन् । यहि कारण विदेशी बैंकहरुले भारतीयहरुको खाता बन्द गरिरहेका छन् । –एजेन्सी