काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले इजाजत नलिई बीमा प्रकृतिका व्यवसाय गर्ने संगठित संस्थाहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ। 

प्राधिकरणले आज सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। सञ्चालनमा रहेका बीमा कम्पनीबाहेक कानुनी प्रावधानविपरीत हुने गरी संगठित संस्थाहरुले बीमा व्यवसायसँग सम्बन्धित कारोबारहरु गरेको देखिएको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ।

बीमा ऐन, २०७९ दफा २४ अनुसार प्राधिकरणबाट इजाजतपत्र नलिई कसैले पनि बीमा, पुनर्बीमा, बीमा कोषजस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसायसम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ। ‘यसका साथै त्यस्तो कार्य सोही ऐनको दफा १४० को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर मानिनेछ’, सूचनामा भनिएको छ, ‘त्यस्ता कार्य गरिएको पाइएमा दफा १४१ को उपदफा (१) बमोजिम जरिवाना भर्नुपर्ने हुन्छ।’ 

बीमा ऐन, २०७९ को दफा १४१ को उपदफा (१)मा यस्तो खालको कसुर गरेमा बिगो जफत गरी बिगोको तेब्बर जरिवाना र त्यस्तो व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई ५ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था रहेको छ। 

उक्त व्यवस्थाविपरीत कसैले पनि बीमा व्यवसायसम्बन्धी कारोबार, व्यवसाय, ब्यापार वा उद्योग गर्ने वा अन्य कुनै प्रयोजनका लागि आफ्नो कम्पनी, फर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा, बीमा कोषजस्ता शब्दहरु प्रयोग नगर्न प्राधिकरणले सचेत गराएको छ। प्राधिकरणबाट इजाजतपत्र प्राप्त बीमा कम्पनीबाहेक अन्य कुनै कम्पनी फर्म वा संस्थासँग बीमासम्बन्धी कारोबार नगर्न प्राधिकरणले आग्रह गरेको छ।