काठमाण्डौ । देशमा भित्रिने विप्रेषण बढेको छ । 

नेपाल राष्टबैंकले सोमबार चालु आर्थिक वर्षको ४ महिनाको समीक्षा गर्दै यस्तो आँकडा प्रस्तुत गरेको हो  

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । 
चालु आबको पहिलो त्रैमासमा २४२ अर्ब १७ करोडमा सीमित थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो । 

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ।

यसैबीच, समीक्षा अवधिमा चालु खाता घाटा रु.८८ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. ४८ अर्ब ९८ करोड रहेको थियो । पहिलो त्रैमाससम्म चालु खाता ८१ अर्ब ९६ करोड घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ अर्ब ४० करोडले बचतमा रहेको थियो । पहिलो त्रैमाससम्म शोधानान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा रहेको थियो । शोधानान्तर अवस्था झन् झन् भयावह बन्दै गएको यो रिपोर्टले देखाउँछ । 

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा २ करोड २३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा रहेको छ ।