काठमाण्डौ । कोरोना भाइरसको संक्रमणले विश्वभर त्रासको अवस्था सिर्जना गरेको छ । विश्वका अधिकांश मुलुकमा यसको संक्रमण फेला परिसकेको छ । संक्रमण देखिएका मुलुकहरुले लकडाउनको घोषणा गरेका छन् । विश्व जनसंख्याको एक तिहाईभन्दा बढी मानिस अहिले घरभित्रै थुनिएका छन् । यही बेला कोरोनाको त्रास मानिसहरुमा कुन हदसम्म फैलिएको रहेछ भन्ने एउटा घटना सार्वजनिक भएको छ ।
घटना भारतको हो । जहाँ एक विमानमा यात्रुले हाच्छ्युँ गरेपछि आत्तिएका पाइलट झ्यालबाट हाम्फालेर भागे । ती पाइलटले विमान ल्याण्ड गर्नासाथ ककपिटको इमरजेन्सी एक्जिटबाट हाम्फालेर भागेका भारतीय मिडियाहरुले जनाएका छन् ।
समाचार अनुसार एयर एसिया इण्डियाको पुणेबाट दिल्ली आएको विमानमा यस्तो अनौठो घटना भएको हो ।
एयर एसियाको फ्लाइट आइ फाइभ – ७३२ मा विमानभित्र कोरोना संदिग्ध व्यक्ति भएको खबर फैलिएपछि उडिरहेको विमानभित्रका यात्रीमाझ कोलाहल मच्चिएको थियो । त्रासकै बीच एक यात्रुलाई हाच्छ्युँ आएपछि कतिपय यात्रुहरु त रुन पनि थाले । यात्रुहरुबीच खैलाबैला मच्चाएको यो घटनाको विषयमा ककपिटमा रहेका पाइलटले समेत खबर पाए ।
यो खबरपछि अत्तालिएका पाइलट इन कमाण्डले विमान ल्याण्ड गर्नासाथ विमानको इमरजेन्सी एक्जिट खोले र त्यहीँबाट हाम्फालेर सुइकुच्चा ठोके । सामान्यतया पाइलटले विमानको अगाडिको ढोका नै प्रयोग गर्छन् तर ती पाइलटले अगाडि नै बसेका व्यक्ति संदिग्ध भएको थाहा पाएपछि ककपिटबाटै हाम्फालेका समाचारमा उल्लेख छ ।
विमान अवतरणपछि त्यहाँका सबै यात्रुलाई पछाडिको ढोकाबाट निकालियो । संदिग्ध व्यक्तिलाई मात्र अगाडिबाट निकालियो । सबै यात्रुको परीक्षण गर्दा सबैको नतिजा भने नेगेटिभ आएको छ । सुरक्षाको लागि विमानलाई आइसोलेसनमा राखिएको बताइएको छ । यो घटनालाई पुष्टि गर्दै एयर एसिया इण्डियाका प्रवक्ताले विमानको पूर्ण निर्मलीकरण गरिएको र अत्तालिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago