काठमाण्डौ । ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि ।’ यो उखान अहिले पनि नेपाली समाज उत्तिकै सान्दर्भिक छ ।

बुवा–आमाले आफ्ना सन्तानलाई पढाइलेखा र असल सत्कार सिकाउनमा कुनै कसर बाँकी राख्दैनन् । सन्तान जब योग्य बनेर आफ्नो कर्ममा लाग्छन्, तब बुवा–आमाभन्दा औधी खुसी को होलान् र ? तर जब आफ्ना सन्तानको विवाहवारी हुन्छ, उनीहरुका सन्तान जन्मिन्छन् तब भने माथिको उखानको सान्दर्भिकता झल्किन थाल्छ । उनीहरु आफ्ना जीवनसाथी र सन्तानको आवश्यकता पूरा गर्दागर्दा आफूलाई जन्म दिने बाबु–आमाको आवश्यकता र चाहना बिर्सिन थाल्छन् ।

कतिपयले त विवाहपछि आमा–बाबुलाई छाडेर छुट्टै बस्न थाल्छन् भने कतिपयले आमा–बाबुलाई बोझ ठानेर वृद्धाश्रममा लगेर छाडेका उदाहरण पनि हाम्रो समाजमा प्रशस्तै छन् । आफ्ना सन्तानले बुढेशकालमा आफूहरुप्रति देखाएका व्यवहार बुवा–आमाको चित्त किन नरोला र ?

वृद्धावस्थामा आर्थिक अभावकै कारण कतिपय आमा–बुवाले आफूले चाहेका कुरा पूरा गर्न सक्दैनन् । चाहँदाचाहँदै पनि त्यस्तै कुरालाई उनीहरु मनभित्रै कन्ठित पार्न बाध्य हुन्छन् ।

पछिल्लो नेपाल सरकारले वृद्ध बाबुआमाको भरणपोषणका लागि सन्तानको आम्दानीबाट १० प्रतिशत छुट्याउनुपर्ने नीति लागू गर्न लागे पनि त्यो कति फलदायी हुनेछ हेर्न बाँकी नै छ । यति बेला भने हामी केही यस्ता उपायहरुबारे चर्चा गरौँ जसबाट तपाइँ विवाहपछि पनि आफ्ना आमा–बुवालाई आर्थिक रुपले सहयोग गर्न सक्नुहुनेछ ।

१. तपाइँले विवाह गर्नुअघि वा विवाहलगत्तै आफ्नो जीवनसाथीसँग आफ्नो आमा–बुवालाई हरहरेश हेरचाह र सहयोग गर्नुपर्ने धारणा राख्नुहोस् । यदि तपाइँ सँगै बस्ने परिस्थित हुँदैन भने पनि आफ्नो जीवनसाथीलाई स्पष्ट भनिदिनुहोस् कि नियमित नभए पनि हप्ता वा महिना एकपटक आमा–बुवालाई उनीहरुको आवश्यकता पूर्तिका लागि सहयोग गर्नुपर्छ । आफ्नो जीवनसाथीलाई यो पनि भनिदिनुहोस् कि तपाइँ आफ्नो आम्दानीको कति प्रतिशत बुवा–आमालाई समर्पित गर्नुहुन्छ । किनकि यस्ता कुराहरु लुकाउने वा नबोल्ने हो भने पछि तपाइँको सम्बन्ध बुवा–आमासँग त बिग्रिन्छ नै जीवनसाथीसामु पनि निक्कामा बन्नुहुनेछ । 

२. सन्तान भएपछि तपाइँको काँधमा थप जिम्मेवारी थपिन्छ । यस्तो अवस्थामा तपाइँलाई आफ्ना सन्तान र बुवा–आमाको आर्थिक व्यवस्थापनमा उल्झन हुन सक्छ । यस्तो अवस्थामा तपाइँले मासिक बजेट बनाउनुहोस् र आकस्मिक अवस्थामा चाहिने पैसा जोहो गरेर राख्नुहोस् । अझै तपाइँले बिमा पोलिसी बनाउनुभयो भने झनै उत्तम हुनेछ । तपाइँले आफ्नो लक्ष्य बनाउँदै बचत भएको रकम राम्रो ठाउँमा लगानी पनि गर्नुहोस् । यसले तपाइँ आफ्ना सन्तानको आवश्यकतासँगै आफ्ना आमा–बुवाको पनि आवश्यकता पनि सजिलै पूरा गर्न सक्नुहुनेछ । 

३. आमा–बुवाको सहयोग तपाइँ अन्य तरिकाले पनि गर्न सक्नुहुन्छ । जस्तै आमा–बुवासँग रहेको पैसाको हिसाब–किताब उचित ढंगले गरिदिनुहोस् । उहाँहरुको स्वास्थ्य बिमा पोलिसी बनाइदिनुहोस् । उहाँहरुसँग सञ्चित रकमलाई राम्रो आम्दानी हुने ठाउँमा लगाइदिनुहोस् । यस्तो गर्न सकियो भने बुवा–आमा आफ्ना सन्तानको आम्दानीमा निर्भर हुनुपर्ने अवस्था आउने छैन । 

४. यदि तपाइँ आमा–बुवालाई नियमित रुपमा आर्थिक सहयोग गर्न चाहनुहुन्छ तर तपाइँसँग त्यो क्षमता छैन भने आफ्ना भाइ–बहिनी वा दाजु–दिदीलाई पनि यसमा हिस्सेदार बनाउनुहोस् । यसले तपाइँलाई आर्थिक भार कम हुनेछ । आफ्ना दाजुभाइ–दिदीबहिनीसँग आमा–बुवालाई नियमित गर्नुपर्ने सहयोगका बारेमा चर्चा गर्नुहोस् । यसबाटले तपाइँले आफ्ना आमा–बुवालाई चाहेको बेला तुरुन्तै सहयोग जुटाउन सक्नुहुनेछ । 

५. तपाइँ राम्रो आम्दानी गर्नुहुन्छ भने आफ्नो जीवनसाथीसँग आमा–बुवालाई गर्नुपर्ने सहयोगका बारेमा खुलेर कुरा गर्नुहोस् । यसका लागि तपाइँले घरखर्चको जिम्मेवारी जीवनसाथीलाई दिनुहोस् र निजी आवश्यकता पूर्तिका लागि जीवनसाथीदेखि बुवा–आमाको छुट्टाछुट्टै बैंक काउन्ट खोलेर नियमित रुपमा आफ्नो आम्दानीको केही हिस्सात जम्मा गरी आर्थिक तनावबाट मुक्त हुनुहोस् । यसले गर्दा बुवा–आमालाई आवश्यक परेको बेला आफ्नो बैंक अकाउन्टबाट रकम झिकेर प्रयोग गर्न सक्नुहुन्छ । यसले उहाँहरुलाई तपाइँसँग पैसाका लागि हारगुहार गरिरहनुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ ।