काठमाण्डौ ।

-लगभग सबै आन्तरिक तयारी पूरा भइसकेको प्रचार गरिए पनि स्वाप रेसियोमा कुरा नमिलेको भन्दै करिब ७ महिनादेखि जारी माछापुछ्रे बैंक र जनता बैंक लिमीटेडको मर्जर प्रक्रिया केही साताअघि औपचारिक रुपमै टुट्यो । राष्ट्रबैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति(एलओआई) पाइसकेपछि मर्जर टुटेको यो पहिलो घटना बन्यो । एलओआइ पाइसकेपछि दुबै बैंकले अन्तिम स्वाप रेसियो टुंग्याएर राष्ट्र बैंकमा अन्तिम स्वीकृति लिन जान सातदिन मात्र बाँकी थियो । तर सात दिनअघि नै दुवै बैंकले जारी मर्जर प्रक्रियालाई तोडे । जनता बैंकको यसअघि मेगा बैंकसँगको मर्जर पनि भाँडिएको थियो । 

-हाम्रो विकास बैंक र ज्योति विकास बैंकबीचको मर्जर प्रक्रिया समेत तोडियो । हाम्रो विकास बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभाले ज्योतिसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेपछि मर्जर प्रक्रिया औपचारिक रुपमै टुटेको हो । यी संस्थाले नेपाल राष्ट्र बैंकबाट गत चैतमा मर्जरको सैद्धान्तिक सहमति पाएका थिए ।

-नेपाल बंगलादेश बैंकसँग मर्जरका लागि सहमति गरी डिडिए समेत गराइसकेको रिलायवल डेभलपमेन्ट बैंकले हालै गत वर्षको खूद नाफाबाट १० प्रतिशत बोनस शेयर दिने र त्यसपछि कायम हुने चुक्तापूँजीको  शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । यसको अर्थ रिलायवल आफ्नै प्रयासमा पूँजी वृद्धि गराउने र एनबी बैंकसँग मर्ज नगर्ने मनिस्थितिमा पुगेको छ । यसबाट स्पष्ट छ, एनबी बैंक र रिलायवल डेभलपमेन्ट बैंकको मर्जर पनि टुटिसक्यो । 

यी हुन् नेपालका बैंक तथा बित्तीय संस्थाहरुबीच जारी मर्जर प्रक्रिया टुटेका केही उदाहरणहरु । नेपाल राष्ट्रबैंकले नेपाली बैंक तथा बित्तीय संस्थाहरुको जोखिम बहन शक्ति वृद्धि, व्यापार वृद्धि तथा विदेशी बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने गरी क्षमता वृद्धि लगायतको उद्देश्यले ल्याएको पूँजीवृद्धिको योजनाअन्तरगत नेपालका बैंक तथा बित्तीय संस्थाबीच मर्जरको क्रम तीव्र भएको छ । राष्ट्रबैंकले तोकेको पूँजीवृद्धिको अन्तिम समयसीमा ०७४ असार मसान्त आउन १४ महिना मात्र बाँकी छँदा कतिपयले सफल मर्जर गरिसकेका छन् भने पछिल्लो समय जारी मर्जरहरु समेत एकाएक टुट्न थालेका छन् । सबै कुरा मिलेर समेत अप्रत्यासित रुपमा कतिपय बैंकहरुले मर्जर प्रक्रियालाई जानी–जानी भाँडेको देखिएको छ । तर बैंक तथा बित्तीय संस्थाहरुले भन्ने गरेजस्तो शेयर मूल्य अर्थात स्वाप रेसियोमा कुरा नमिलेकै कारण सफल हुने अवस्थामा रहेका मर्जरहरु भाँडिएका होइनन् । बैंक तथा बित्तीय संस्थामा हाबी माफियाहरुको तीव्र चलखेल, व्यक्तिगत स्वार्थ, आफ्नो दूनो सोझ्याउन नपाइएला भन्ने पीर र धमिलो पानीमा माछा मारिरहन खोज्ने प्रवृतिका कारण मर्जर प्रक्रिया धमाधम भाँडिन थालेको छ । भइरहेका मर्जर भाँडिइनुले राष्ट्रबैंकको पूँजीवृद्धिको योजना नै धरापमा पर्ने हो कि भन्ने चिन्ता बढाइदिएको छ । 

बाहिरी विवाद, स्वाप रेसियोको 
भन्नलाई त भनियो जनता र माछापुच्छ्र्रे बैंक बीच मर्जर भाँडिनुको मुख्य कारण स्वाप रेसियोको विवाद नै हो, तर मर्जर तोडिनुको मुख्य कारण अरु नै रहेको सूत्र बताउँछ । मुख्य रुपमा मर्जरको क्रममा डीडीए भई स्वाप रेसियोमा कुरा नमिलेपछि सात महिनाअघिदेखि सुरु मर्जर प्रक्रिया तुहिएको बैंकका अधिकारीले दाबी गर्ने गरेका छन् । उनीहरुका अनुसार प्रारम्भमा दुवै बैंक बीच माछापुच्छ्रेको एक कित्ता शेयरको मूल्य १२१ र जनताको ८२ रुपैयाँ हुने गरी सहमति भएको थियो । तर यस्तो सहमतिपछि माछापुच्छ्रे बैंकले बोनस शेयर वितरण गर्ने निर्णय गरेपछि जनता बैंकसँगको तिक्तता त्यहीँबाट सुरु भएको थियो । जनता बैंकले स्वाप रेसियोमा सहमति भइसकेपछि पनि बोनस शेयर वितरण गर्ने निर्णय गरेर माछापुच्छ्रेले गद्धारी गरेको र यसले स्वाप रेसियो अझै घट्ने भन्दै मर्जर भाँडिनसक्ने चेतावनी दिएको थियो । जनता बैंकले आफूले पनि बोनस शेयर वितरण गर्न पाउनुपर्ने माग समेत गरेको थियो । दुवै बैंकले मर्जरका लागि नियुक्त टिमले डीडीए प्रतिवेदन दिएपछि  माछापुच्छ्रे्को सेयरको मूल्य १०९ रुपैयाँ र जनताको ८२ रु. हुने तय भएको थियो । तर डीडीए रिपोर्टप्रति नै माछापुच्छ्रे बैंकले गम्भीर असहमति जनाएको थियो । यस्तै यस्तै कुरा प्रचारमा ल्याइए पनि दुई बैंकको मर्जर भाँडिने मुख्य कारण ‘स्वाप रेसियो’ थिएन । दुई बैंकका केही संचालक र सीइओले आफ्नो भाग गुम्ने र चलखेल बन्द हुने देखेर स्वाप रेसियोको नक्कली कुरा गरी मर्जर भाँडेका स्रोतबाट खुलेको छ । जनता बैंकका सीइओ कुमार लम्सालले मर्जरपछि आफ्नो पद धरापमा पर्ने देखे । सोही बैंकका संचालक गुरुप्रसाद न्यौपाने लगायतहरुको समेत स्वार्थ सिद्ध नहुने अवस्था भयो । मर्जपछि स्वभाविक रुपमा दुवै बैंकका सबै संचालकको मर्जअघिजस्तो हालीमुहाली चल्न पाउदैन । सीइओहरुको खेलोफड्को पनि बन्द हुन्छ । यही कुरा हाबी भएपछि ९० प्रतिशत निक्षेपकर्ताको पैसामा व्यापार गर्ने बैंकका १० प्रतिशतको स्वार्थका लागि मर्जर भाँड्ने काम भयो ।

उता, गत मंसिरमा, ज्योति विकास बैंक, हाम्रो विकास बैंक र झिमरुक विकास बैंकबीच मर्जरमा जाने सहमति भएको थियो । यी संस्थाहरुको ड्यु डेलिजेन्स अडिट पनि भएको थियो । डीडीएमा सबै संस्थाको स्वाप रेसियो १ बराबर १ हुने सहमति भएको थियो । तर, यस अवधिमा ज्योति बैंकको खराब कर्जा १ अर्ब रुपैयाँले बढेपछि हाम्रो बैंकका सेयरधीले मर्जर प्रक्रिया तोड्नु परेको दाबी गरेका छन् । साधारणसभामा उपस्थित ३० प्रतिशतभन्दा बढी सेयरधनीले ज्योतिसँगको विरोध जनाएपछि मर्जको प्रस्ताव अस्वीकृत भएको प्रचार गरिएको छ । तर यो पनि देखावटी कारण मात्र हो । स्वार्थ समूहहरुले मर्जरपछि आफ्ना स्वार्थ पूर्ति हुने अवस्था देखेनन् र जारी मर्जरलाई समेत स्वाप रेसियोलाई ढाल बनाई भाँड्ने काम गरियो । 

उता, रिलायवलले नेपाल बंगलादेश बैंकसँग मर्जका लागि सहमति गरी डिडिए समेत गराएको थियो । तर डिडिए रिपोर्ट आएपछि स्वाप रेसियो निकै कम दिएको भन्दै रिलायवल मर्जबाट पछि हटेको बताइएको छ । रिलायवलले आफैं साढे २ अर्ब पुर्याउने सोंचले मर्जरबाट पछि हटेको स्रोतले बताएको छ । रिलायवलले ग्लोबल आइएमई र प्राइमसँग पनि मर्जरको कुरा चलाएको थियो, तर त्यो पनि संभव हुने अवस्था नरहेको स्रोतको भनाई छ । यसमा पनि ठूलो बैंकसँग मिल्दा रिलायवल डेभलपमेन्ट बैंकका केही संचालक र व्यवस्थापनका केही कर्मचारीको स्वार्थ पूरा नहुने अवस्था भयो र जारी मर्जरलाई तोडेर उनीहरु आफैं पूँजी वृद्धि गर्ने बाटोतर्फ अग्रसर भए । 

स्वाप रेसियो, देखाउने दाँत मात्र
नेपाल राष्ट्रबैंकका पूर्व डेपुटी–गभर्नर महाप्रसाद अधिकारीको भनाईमा हालसम्म जति पनि बैंक तथा बित्तीय संस्था मर्जका लागि तयार भए ती सबैलाई राष्ट्रबैंकले प्रत्यक्ष/अप्रत्यक्ष दवाब दिनुपर्यो, घचेट्नुपर्यो । ‘थोरै संस्थाहरुलाई मात्र मर्जमा जान बजारले बाध्यता बनायो ।’ उनले भने–‘तरलता र एनपीए लगायतको समस्याले बैंक नै डूब्ने अवस्था भएका सीमितले मात्र मर्जरका लागि आफैं अग्रसरता लिए ।’ उनका अनुसार स्वस्फूर्त रुपमा आफ्नो संस्थाको साइज बढ्ला, पूँजी बढ्ला, लगानी बढ्ला, प्रतिस्पर्धाको क्षमता पनि बढ्ला र व्यापार समेत बढ्ला भन्ने सोचेर मर्जर भएका कमै घटना छन् । 

‘स्वाप रेसियोको इस्यू देखाउने दाँत मात्रै हो । आफ्नो हालीमुहाली नटुटोस् भनेर जानी–जानी मर्जर भाँड्ने काम हुन थालेको छ ।’

महाप्रसाद अधिकारी–पूर्व डेपुटी गभर्नर 

‘राष्ट्रबैंकले मर्जर गर भनेर के भो त, म आफैं पैसा हाल्छु र तोकिएको पूँजी पुर्याउँछु भन्नेहरु पनि पछिल्लो कालमा धेरै निस्किएका देखिन्छ ।’ अधिकारीले भने–‘पछिल्लो कालमा मानिसको आर्थिक हैसियत पनि बढ्दै गयो, यसकारण आफैँ पैसा हालेर तोकिएको पूँजी पुर्याउन गाह्रो भएन, यो कारण समेत भइरहेका मर्जर भाँड्न त्यस्ता समूह सक्रिय भए ।’ 

बैंक तथा बित्तीय संस्थामा हाबी स्वार्थ समूहको स्वार्थ पूर्ति हुन नसक्ने अवस्था नै मर्जर भाँडिनुको मुख्य कारण रहेको अधिकारीको दाबी छ । ‘मर्ज हुँदा व्यवस्थापन, बोर्डमा मिश्रित प्रतिनिधित्व हुन्छ, एउटैको नियन्त्रण संभव हुँदैन । निश्चित सुशासन हुन्छ ।’ उनले थपे–‘यस्तो नचाहनेहरुका कारण भइरहेको मर्जर समेत धमाधम भाँडिरहेका समाचार आइरहेका छन् ।’ उनको भनाईमा स्वाप रेसियोको विवाद मर्जर भाँडिनुको प्रमुख कारण नभई ‘देखाउने दाँत’ मात्र हो । ‘स्वाप रेसियोको इस्यू देखाउने दाँत मात्रै हो ।’ अधिकारीले भने–‘आफ्नो हालीमुहाली नटुटोस् भनेर जानी–जानी मर्जर भाँड्ने काम हुन थालेको छ ।’ 

व्यक्तिगत टकराव र स्वार्थ
बैंकर अनलराज भट्टराईको भनाईमा स्वाप रेसियोको विवाद मर्जर भाँडिनुको मुख्य कारण होइन । ‘मेजर कारण स्वाप रेसियो होइन ।’ उनले भने–‘स्वाप रेसियोको भिन्नता जति नै भए पनि बोनस शेयरमा पछि कन्भर्ट हुन्छ नै । यो ठूलो इस्यू नै होइन ।’ 

उनको भनाईमा मर्जरका लागि सैद्धान्तिक सहमति भए पनि व्यक्तिगत र समूहगत स्वार्थ नमिल्दा भइरहेका मर्जर भाँडिन थालेका हुन् । ‘पदाधिकारी, बोर्ड तथा व्यवस्थापनमा स्वार्थ नमिल्दा समेत भाँडिएको छ ।’ उनले थपे–‘संगठनको हित सोच्नेहरु रहेका संस्थाको मर्जर सफल भएका छन्, आफ्नो मात्र हित सोच्नेहरु रहेका संस्थाको मर्जर भाँडिएको छ ।’ 

बैंक तथा बित्तीय संस्थामा स्वच्छ ढंगले व्यापार गर्नेहरुले मर्जरबाट क्षमता बढाउने र व्यापार बढाउने बिषयमा केन्द्रीत हुने र त्यस्ताका लागि आफ्नो स्वार्थ गौण हुने भट्टराईको भनाई छ । ‘जुन–जुन मर्जर बिग्रिएका छन, त्यहाँ नितान्त रुपमा व्यक्तिगत टकराव र स्वार्थले काम गरेको छ ।’–उनले भने ।

‘पदाधिकारी, बोर्ड तथा व्यवस्थापनमा स्वार्थ नमिल्दा समेत भाँडिएको छ । संगठनको हित सोच्नेहरु रहेका संस्थाको मर्जर सफल भए, आफ्नो मात्र हित सोच्नेहरु रहेका संस्थाको मर्जर भाँडिएको छ ।’

अनलराज भट्टराई, बैंकर

उनले राष्ट्रबैंकको पूँजीवृद्धि योजना राम्रो रहेको भन्दै यसका लागि मर्जरमा जाँदा दिमागले काम गर्न र मुटु बढी प्रयोग नगर्न सुझाव दिए । ‘यो मेरो व्यापारिक निर्णय हो, तत्काल मलाई अप्ठ्यारो परे पनि दीर्घकालमा यसले संस्थाको  सर्वोपरि  हित नै गर्छ भन्ने सोच्नुपर्यो ।’ उनले भने–‘व्यक्तिगत इन्ट्रेस्टमा जानै भएन ।’ 

कुनै पनि संस्थामा लगानी गरेपछि व्यापार आफ्नो नियन्त्रणमा हुनुपर्छ भन्ने चाहना राख्नु स्वभाविक भए पनि अदर्श पिपुल मनी(अरुको पैसाबाट चल्ने व्यवसाय) बैंकका मुख्य मालिक बचतकर्ताको स्वार्थ हेर्नुपर्ने उनी सुझाउँछन । ‘बैंकका मुख्य मालिक बचतकर्ता हुन्, ९० प्रतिशत बचतकर्ताको हित हेर्नुपर्छ ।’ उनले भने–‘यहाँ त १० प्रतिशतको स्वार्थ हाबी भएर बचतकर्ताको हित नहेरिएको अवस्था छ ।’ उनले देशलाई ठूलो र दरिलो बैंक चाहिएकोले अलिकति घाटामा समेत सम्झौता गरी व्यक्तिगत स्वार्थलाई निक्षेपकर्ताको हितमा प्रयोग गर्न समेत बैंक तथा बित्तीय संस्थाहरुलाई सुझाव दिएका छन् । 

राष्ट्रबैंकले तोकेको पूँजी वृद्धिको समय अब १४ महिना मात्र बाँकी रहेको र चाहँदा ६ महिनामा एउटा मर्जर सकिने भएकोले बैंक तथा बित्तीय संस्थाहरुले यो टाइमलाइन ख्याल गरेर व्यक्तिगत स्वार्थबाट माथि उठी अगाडि बढ्नुपर्ने भट्टराईको सुझाव छ । ‘आफू सक्षम हुनुपर्छ, रणनीतिक निर्णय हुनुपर्छ ।’उनले थपे–‘नमिलेका व्यक्तिगत स्वार्थलाई पन्छाए मात्र जारी मर्जर समेत सफल हुनेछन् ।’ 

थुप्रै भित्री कारणहरु
राष्ट्रबैंकका पूर्व गभर्नर डा. तिलक रावल चाहि पूँजी पर्याप्तताको उद्देश्यले भइरहेको केही संस्थाको मर्जर प्रक्रिया टुट्नुमा शेयर मूल्यको भिन्नता पनि एउटा महत्वपूर्ण कारण रहेको दाबी गर्छन ।

‘संचालकदेखि व्यवस्थापनमा रहेकासम्मको भागबण्डामा कुरा नमिल्दा समेत मर्जर भाँडिएका छन् ।’ डा. तिलक रावल, पूर्व गभर्नर

‘तर मर्जर हुँदा कर्मचारीको व्यवस्थापन कसरी  हुने, कोही फालिने डर र त्रास पनि रहला ।’ उनले भने–‘संचालक समितिकै मान्छेको समेत स्वार्थ हाबी नहुने अवस्था रहला, यी कारणले समेत मर्जर भाँडिएका छन् ।’ उनको भनाईमा मर्जर भाँडिनुको कारणको रुपमा बाहिर स्वाप रेसियोका कुरा ल्याइए पनि भित्री कारणहरु थुप्रै हुनसक्छन । ‘संचालकदेखि व्यवस्थापनमा रहेकासम्मको भागबण्डामा कुरा नमिल्दा समेत मर्जर भाँडिएका छन् ।’–उनले थपे । 

स्वाप मिलाउन मोलतोल
शेयर बजार विश्लेषक रविन्द्र भट्टराईको भनाईमा बजारको मूल्यमा कुरा नमिल्दा समेत बैंक तथा बित्तीय संस्थाहरुको मर्जर टुट्ने क्रम बढेर गएको हो । ‘शेयरको मूल्य कम र कम कारोबार हुँदा प्रोमोटरहरुलाई आफैं पूँजी पुर्याउन सकिन्न भन्ने डर थियो ।’ उनले भने–‘मूल्य बढेपछि बजारबाट फाइदा लिने र त्यही पैसा लिएर हकप्रद जारी गरेर तोकिएको पूँजीवृद्धि गर्ने सोंच हाबी हुँदा समेत मर्जर भाँडिन थालेको हो ।’

‘स्वाप रेसियोमा मर्जर कमिटी र कतिपय राष्ट्रबैंककै अधिकारीहरुले समेत बार्गेनिङ गर्ने गरेका र ठूलै रकमको चलखेल हुने गरेको छ ।’

रविन्द्र भट्टराई, शेयर बजार विश्लेषक 

हाल शेयर बजार परिसूचक १५०० को हाराहारीमा पुगिसकेको छ । प्राय सबै कम्पनीको शेयर मूल्य समेत निकै माथि पुगेको छ । विभिन्न स्रोतहरुलाई हवाला दिंदै भट्टराईले बताए अनुसार स्वाप रेसियोमा मर्जर कमिटी र कतिपय राष्ट्रबैंककै अधिकारीहरुले समेत बार्गेनिङ गर्ने गरेका र ठूलै रकमको चलखेल हुने गरेको छ । स्वाप रेसियोको मोलतोलमा कुरा नमिल्दा पनि मर्जर भाँडिएका छन् । ‘नियत नै खराब भएका समूहहरु हाबी हुँदा पनि कतिपय मर्जर भाँडिएका हुन् ।’ उनले भने–‘कतिपयको इच्छा राम्रो हुनै नदिने हुन्छ, धमिलो पानीमा माछा मार्न माहिरहरुको स्वार्थका कारण समेत मर्जर प्रक्रिया टुट्ने क्रम बढेर गएको छ ।’