Bangladeshi Attackers
-मार्क से
जुलाइ १ मा बन्दुकधारीहरुको समूहले ढाकास्थित एउटा क्याफेमा आक्रमण गर्यो। बन्धक बनाइएका मध्ये २० जनाको हत्या गरियो र दुई प्रहरी र ६ संदिग्ध हमलाकारी पनि मारिए।
प्रत्यक्षदर्शीहरुले उनीहरुले कुटपिट र धारिलो हतियार प्रयोग गरि मारिएका मानिसहरुका शवका टुक्राहरु देखेको र कुरान बाचन गर्न नसक्नेहरुलाई यातना दिएर मारिएको दाबी गरेका छन्।
हमालकारीहरुमध्ये एकजना बाहेक अरु सबै सुविधासम्पन्न पृष्ठभूमिबाट आएको थाहा पाएपछि धेरै बांग्लादेशीहरु आश्चर्यचकित भए। उनीहरु मध्ये एकजना सतारुढ दलका नेताका छोरा, विश्वविद्यालय र चल्तीका सार्वजनिक विद्यालयका विद्यार्थी थिए।
तर के हामी पनि त्यसैगरी आश्चर्यमा पर्नुपर्छ? धेरै राजतीतिज्ञहरुले गरिबीलाई कट्टरपन्थी विचारधारा तर्फको आकर्षणको कारण मान्ने गरे पनि केहि विज्ञहरुले हिंसात्मक उग्रवादीहरु औसत भन्दा धनी तथा सुशिक्षित पृष्ठभूमिका व्यक्ति हुने टिप्पणी गरेका छन्।
धेरै नेताहरुले भन्ने गरेका छन्, के गरौँ कसो गरौँ भन्ने स्वभावका व्यक्तिहरु आफूले केहि पनि गुमाउनु नपर्ने महसुस गर्छन् र सजिलै उग्रवादीहरुद्वारा भर्ती गरिन्छन्।
उदाहरणका लागि गरिब देशहरुलाई विकास सहयता थप गर्नुपर्ने धारणा राख्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले भनेका थिए, “एकदमै गरिब देशहरुले रोग, आतंकवाद तथा द्वन्द्वलाई बढी मलजल उपलब्ध गराइरहेका हुन्छन्।”
अनि तान्जनीयाका राष्ट्रपति बेन्जमीन काप्पाले दृढतापूर्वक भनेका छन्, “त्यो निरर्थक हुन्छ, गरिबी तथा आतंकवादबीच सम्बन्ध छैन भन्नु मुर्खतासिवाय केही होइन।”
तर कयौँ विश्वव्यापी सुरक्षा मामिलाका कयौँ विज्ञहरुले त्यस्तो सम्बन्ध अस्वीकार गरेका छन्।
उनीहरु भन्छन्, बरु हिसांत्मक उग्रवादमा संल्गन भएकाहरु समाजका साधारण भन्दा बढी शिक्षित र सम्पन्न तप्काका व्यक्ति छन्।
जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयको स्कूल अफ पब्लिक पोलिसीका अर्थशास्त्रका प्रध्यापक क्लोड बेरीबी भन्छन्, “आजको विश्वमा, अझ सुदृढ आर्थिक अवस्था भनेकै अझ बढी आतंकवाद हो।”
उनले राजनीतिक रुपमा पूर्वाग्रही हिंसामा संलग्न व्यक्तिहरु सहज पृष्ठभूमिबाट आएका व्यक्तिहरु हुने कयौँ प्रमाणहरु रहेको उल्लेख गरे।
र अमेरिकाभित्रै हुर्किएका आतंकवादीहरु, आइएसआइएसका स्वयंसेवकहरु र हमास जस्ता प्यालेस्टिनी समूहका सदस्यहरु धनी तथा सुशिक्षित हुने सम्भावना बढी हुन्छ।”
तर गुमाउनुपर्ने धेरै भएका व्यक्तिहरु यसरी किन उग्रवाद रोज्छन्?
त्यसको जवाफ पाउन, प्राध्यापक बेराबी भन्छन्, हामीले आतंकवादबारे सोच्ने दृष्टिकोण नै बदल्नुपर्ने हुन्छ।
उनी भन्छन्, “तिनीहरु राजनीतिक कार्यकर्ताहरु हुन् जो आफ्ना राजनीतिक मुद्दाहरुलाई अघि बढाइरहेका छन्।”
ऐतिहासिक रुपमा नै बढी शिक्षित व्यक्तिहरु विभिन्न अभियानमा सक्रिय भइरहेको पाइएको छ र उनीहरु राजनीतिक प्रक्रिया र त्यसका परिणामहरुमा बढी लागिपर्ने गर्छन्।
“आर्थिक रुपमा सबल भएपछि मात्रै कुनै व्यक्तिले फराकिलो दायरा भएका राजनीतिक विषयहरुमा सोच्न सक्छ।”
तर राजनीतिज्ञहरु किन गलत बुझ्छन्?
प्राध्यापक बेराबीका अनुसार या त नेताहरुलाई तथ्यको जानकारी छैन वा उनीहरु गरिबीबाट गुज्रिरहेका मानिसहरुलाई सहानुभूति व्यक्त गर्ने प्रयासमा जानाजानी गरीबी र आतंकवादलाई मिसाउने गर्छन्।
राजनीतिक हिंसालाई अरु प्रकारका हिंसासँग तुलना गर्नाले पनि त्यस्तो गलत ठम्याइ आएको हुनसक्ने उनको कथन छ।
“गरिबी र अधिकांश अपराधको अवश्य पनि सम्बन्ध रहने गरेको छ त्यही भएर धैरै जनाले चोर तथा हत्याराहरु गरिब पृष्ठभूमिका हुन्छन् अनि आतंकवादी पनि त्यस्तै हुन्छन् भनेर ठानेका हुनसक्छन्।”
उनी थप्छन्, “तर राजनीतिक हिंसामा धन, सम्पत्ति जस्ता बस्तुगत उपलब्धी प्राप्त नहुने तथ्यलाई वास्ता गरिदैँन, उद्देश्य त मुद्दालाई अघि बढाउनु हो नी।”
अन्य विज्ञहरु पनि यस्ता हिंसामा वर्गको पनि भूमीका हुनेमा सहमत छन् किनभने पेट पाल्न काम गर्नुपर्ने व्यक्तिहरु भन्दा सम्पन्न व्यक्तिहरुले नै आफ्ना विभिन्न अवधारणाहरुमा समय बिताउने छुट पाएका हुन्छन्।
इस्लामवादी चरमपन्थीका हिंसालाई नजिकबाट नियालेका ब्रिटेनको बकिङघम विश्वविद्यालय अन्तर्गतको सेन्टर फर सेक्युरिटी एण्ड इन्टेलिजेन्स स्टडिजका निर्देशक एन्थोनी ग्लीसका अनुसार जिहादीहरु दुई प्रकारका हुने गरेका छन्।
“उनीहरु वञ्चित पृष्ठभूमीबाट आएका हुन्छन्, जस्तो मुख्य गरी प्यारिस र ब्रसल्स जस्ता युरोपका शहरमा बहिस्करणमा परेका व्यक्तिहरु। त्यसबाहेक एकदमै शिक्षित अनि कुनै पनि हिसाबले सामाजिक रुपमा बहिस्करणमा नपरेका व्यक्तिहरु पनि छन्।”
र ब्रिटेनमा आफूले अध्ययन गरेका बहुसंख्यक जिहादीहरु राम्रो शिक्षा दिक्षा पाएका र विचारधाराहरुमा रुची भएका व्यक्तिहरु रहेको उनको भनाई छ।
उनी भन्छन्, “ ब्रिटेनमा आतंकवादमा संलग्न भएकोमा दोषी पाइएका वा हत्या गरिएका मध्ये झण्डै ५५ प्रतिशत उच्च शिक्षा हासिल गरेका मानिसहरु थिए।”
“सामाजिक बहिस्करण भन्दा पनि विचार र विचारधारा जिहादीहरु उत्पादन गर्ने मुख्य कारक तत्वहरु हुन्।”
क्रान्तीकारी विचारधारालाई प्रवर्धन गर्ने इतिहास बोकेको युरोपले कम्युनिष्टकालको उदयदेखि १९ औं शताब्दीको अराजकतावादसम्म शिक्षित युवाहरुलाई भर्ना गर्ने नीति अख्तियार गरेको थियो।
युरोपले पनि यस्ता हिंसा व्यहोरेको उल्लेख गर्दै प्राध्यापक ग्लीस भन्छन्, ती हिंसाका घटना इस्लामवादी नभइ शहरी छापामार प्रवृतिका थिए।
उनी भन्छन्, “रेड ब्रिगेड वा बार्ड माइनहोफ समूहका अधिकांश सदस्य असौत भन्दा बढी नै शिक्षित थिए।”
यो ऐतिहासिक पृष्ठभूमीलाई केलाउँदा, राजनीतिक हिंसामा मध्यमवर्गको संलग्नतालाई लिएर सम्भवत त्यति बढी आश्चर्यमा परिरहनु नपर्ला।
-बीबीसी
समाचारमा प्रयोग भएका फोटो स्रोत : रोयटर्स, एपी, फोकस बंग्ला र साइट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago