काठमाण्डौ । यदि तपाई धनी बन्न चाहनुुहुन्छ भने तपाईले यो जान्नुुपर्ने हुन्छ कि विश्वका धनाढ्यहरुले के गरिरहेका छन् ? हालै क्यापजेमिनी नामको कम्पनीले विश्वका धनी मानिसमा आधारित ‘वल्र्ड वेल्थ रिपोर्ट २०१७’ जारी गरेको छ । यो क्रममा कैयन यस्ता तथ्यहरु बाहिर आएका छन्, जसलाई अध्ययन गरेर तपाईले पनि सही ठाउँमा लगानी गर्ने र धनी बन्ने सूत्र पाउन सक्नुुहुन्छ ।

यसमा सबैभन्दा चाखलाग्दो कुरा यो छ कि विश्वका धनाढ्यहरुले केही क्षेत्रमा जारी लगानीलाई घटाइरहेका पाइएको छ । साथै, उनीहरुले आफूूसँग नगद राशि समेत बढी थुपार्न थालेका समेत रिपोर्टले खुलासा गरिदिएको छ । यो रिपोर्ट विश्वभरका ती मानिससँग आधारित छ, जसको साथमा न्यूनतम १० लाख डलर बराबरको सम्पत्ति छ । क्यापजेमिनीको अनुमानमा विश्वभर यस्ता मानिससँग सन् २०१६ सँग ६३.५ लाख करोड डलरको सम्पत्ति रहेको थियो । यो सम्पत्ति सन् २०२५ मा बढेर १०० लाख करोड डलरको उचाईमा पुुग्नेछ । रिपोर्टका अनुसार धनीहरुले निम्न पाँच तरिका अपनाएर पैसाबाट पैसा कमाइरहेका छन्, बढाइरहेका छन् ।  

तीव्र गतिमा बढिरहेको छ नगद
आम रुपमा धनी मानिसहरुले आफूसँग भएको पैसा लगानी गरिरहेका हुन्छन् भन्ने धारणा हुन्छ, तर यो सत्य होइन । अब धनाढ्यहरुले आफ्नो साथमा धेरै पैसा राख्न थालेका छन् । विश्वको बित्तीय अवस्था निकै तीव्र गतिमा परिवर्तन भइरहेको छ । यस्तो अवस्थामा कुन बेला लगानीको अवसर खुल्छ, त्यसको ठेगान छैन । यहीकारण जुनसुकै समयमा आउनसक्ने आकस्मिक अवसरहरुलाई नगुमाउन समेत धनाढ्यहरुले नगद थुपार्न थालेका हुन् । रिपोर्टका अनुसार सन् २०१६ को चौथो त्रैमाससम्म यी धनाढ्यहरुको पोर्टफोलियोमा २३.५ प्रतिशत नगद रहेको थियो, तर २०१७ को दोश्रो त्रैमासमै यो बढेर २७.३ प्रतिशत पुुगिसकेको छ । 

निश्चित आम्दानीतर्फ पूरा ध्यान
विश्वभरका धनाढ्यहरुको सबैभन्दा राम्रो बानी भनेको उनीहरुले आफ्नो फिक्स्ड आम्दानीतर्फ दिने ध्यान नै हो । यहीकारण २०१६ को चौथो त्रैमासमा यी मानिसहरुको पोर्टफोलियोमा १८ प्रतिशत लगानी फिक्स्ड इनकम हुने उपकरणमा रहेको थियो । २०१७ को दोश्रो त्रैमासमा समेत यो प्रतिशत उति नै छ । बित्तीय क्षेत्रका विज्ञहरु समेत यसरी निश्चित आम्दानी हुने उपकरणमा स्थिर भएर लगानी गर्नु पैसाबाट पैसा बनाउने एउटा निकै राम्रो विकल्प भएको बताउँछन् । मुख्य रुपमा फिक्स्ड आम्दानीका लागि लगानीकर्ताले मुद्धती खातादेखि विभिन्न ऋणपत्रहरुमा समेत लगानी गर्ने गर्छन् । यी क्षेत्रमा रिटर्न बरु कमै प्राप्त होला, तर जति हुन्छ त्यो निश्चित हुन्छ । 

रियल स्टेट क्षेत्र
नेपालमा लगानीको सबैभन्दा ठूलो ध्यान नै रियल स्टेटमा दिइने गरिएको छ । तर, पूरा विश्वको कुरा गर्ने हो भने धनाढ्यहरु रियल स्टेटको क्षेत्रबाट धमाधम निस्किरहेका छन् । रिपोर्टका अनुसार २०१६ को चौथो त्रैमाससम्म यी धनाढ्यहरुको पोर्टफोलियोमा १७.९ प्रतिशत हिस्सेदारी रियल स्टेटमा रहेको थियो । तर, २०१७ को दोश्रो त्रैमाससम्म यो हिस्सेदारी घटेर १४ प्रतिशतमा आइसकेको छ । यसरी यी धनाढ्यहरुसँग लगानीयोग्य पूँजी बढिरहेको समेत देखिएको छ । यसले के पनि देखाउँछ भने यी धनाढ्यहरु सही ठाउँमा लगानी गरेर राम्रो आम्दानी लिन सफल भइरहेका छन् ।

इक्वीटी मार्केट
विश्वभरका इक्वीटी मार्केटमा आम मानिसहरुको उतारचढाव देखिइने गरेको छ, तर धनाढ्यहरु भने अवसर हेरेर बस्ने गरेका पाइएको छ । यी मानिसहरुको पोर्टफोलियोमा सन् २०१६ को चौथो त्रैमाससम्म इक्वीटी मार्केटमा २४.८ प्रतिशत लगानी थियो । तर, सन् २०१७ को दोश्रो त्रैमाससम्म बढेर ३१.१ प्रतिशतको उचाईमा पुगिसकेको छ । यहाँ यो कुरा ध्यान राख्न जरुरी छ कि यी मानिसहरुको १ प्रतिशत सम्पत्ति भनेको ६३ हजार करोड डलर हो । 

वैकल्पिक लगानीबाट मोह भंग
स्टक मार्केट, ऋणपत्रदेखि रियल स्टेटको अलावा अन्यत्र गरिने लगानीलाई वैकल्पिक लगानीको क्षेत्र भनिन्छ । यसमा बहुमूल्य धातुु, सुन, हिरामोती जस्ता चिजहरु पनि पर्छन् । विश्वभरका धनाढ्यहरुले यी क्षेत्रबाट समेत आफ्नो पैसा निकाल्न सुरु गरिसकेका देखिएको छ । क्यापजेमिनीको रिपोर्टअनुसार विश्वभरका धनाढ्यहरुले २०१६ को चौथो त्रैमाससम्म आफ्नो पोर्टफोलियोमा १५.७ प्रतिशत लगानी वैकल्पिक क्षेत्रमा खन्याएका थिए । तर, २०१७ को दोश्रो त्रैमाससम्म आउँदा यो क्षेत्रको लगानी घटेर सिंगल डिजिटमा अर्थात ९.७ प्रतिशतमा सीमित बन्न पुुगेको छ ।