काठमाण्डौ । उत्तरी हंगेरीको एउटा सानो गाउँ सिनपेत्रीमा विश्वकै ठूलो किताब निर्माण गरिएको छ ।

सिनपेत्रीमा बसोबास गर्ने बेला वर्गाले आफ्नो हातैले यति ठूलो किताब निर्माण गरेका हुन् । उनी दाबी गर्छन् कि यो विश्वकै ठूलो किताब हो । 

बेलाले यो किताब निर्माण गर्न परम्परागत बुक बाइन्डिङ तरिका प्रयोग गरेका छन् । यो किताबको लम्बाइ ४.१८ मिटर र चौडाइ ३.७७ मिटर रहेको छ । कितामा ३४६ पन्ना छन् । 

यो किताबको तौल १ हजार ४२० किलोग्राम रहेको छ । ७१ वर्षीय वर्गाले यो किताबमा हंगेरीको वातावरण, गुफा, भूभागका विषयमा जानकारी दिने लेखहरु समेटेका छन् । 

यो किताब आफ्नो आकारसँगै यसलाई निर्माण प्रयोग भएको तरिकाले पनि अहिले विश्वमा चर्चित बनेको छ । यो किताब राख्नका लागि बर्गाले काठको टेबल र अर्जेन्टिनाबाट मगाइएको गाईको छाला प्रयोग गरिएको छ । 

यो किताबका पान्ना पल्टाउनकै लागि ६ जना लाग्छ । तिनले पनि एएटा मेसिन र स्क्रुहरुका मद्दतले पान्ना पल्टाउन सक्छन् । 

यो किताबको सानो कपी पनि तयार गरिएको छ । सानो कपीको तौल पनि ११ किलोग्रामको छ । यी दुवै किताब बर्गाले एक साथ तयार गरेका हुन् । 

वर्गाले किताबमा लागेका धुलो हटाउन याकको पुच्छर बनेको पोछा प्रयोग गर्छन् । त्यो याकको पुच्छर वर्गाले भुटानका प्रधानमन्त्रीबाट विशेष उपहारका रुपमा पाएका हुन् । 

यो किताबलाई गिनिज बुक अफ वल्र्ड रिकर्डसमा दर्ता गराउने तयारी भइरहेको छ । – एजेन्सी