काठमाण्डौ । करदाता करबाट बच्नका लागि विभिन्न उपाय अपनाउने प्रयास गर्छन्। तर एक अर्बपति यस्ता पनि छन् जसले अर्बौं डलरको कर बचाउनका लागि आफ्नो बसाइ नै सार्ने सोच बनाएका छन्।

समाचार एजेन्सीहरुका अनुसार ती व्यक्ति हुन् विश्वकै दोस्रो धनाढ्य एलन मस्क। एलन मस्क स्टेट ट्याक्स (राज्य कर) बाट बच्नका लागि अमेरिकाको एउटा राज्यबाट अर्को राज्यमा बसाइ सर्ने सोचमा रहेका हुन्।

टेस्ला र स्पेस एक्सका सीईओ एलन मस्क अहिले क्यालिफोर्नियामा बसोबास गर्छन्। क्यालिफोर्नियामा राज्य कर तिर्नुपर्छ। यही राज्य करबाट बच्न एलन मस्क टेक्सास बसाइ सर्ने सोचमा रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्। किनकि टेक्सासमा राज्य कर तिर्नुपर्दैन। यदि उनी टेक्सास बसाइ सरे भने उनी राज्य कर तिर्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन् र राज्य करका रुपमा तिर्नुपर्ने अर्बौं डलर बच्न सक्छ।

सीएनबीसीका अनुसार एलन मस्कले साथीहरुसँग आफू क्यालिफोर्नियाबाट बसाइ सर्न चाहेको बताउँदै आएका छन्। यद्यपि एलन मस्कले यस विषयमा आधिकारिक धारणा भने सार्वजनिक गरिसकेका छैनन्।

गत मे महिनामा एलन मस्कले आफूले क्यालिफोर्नियास्थित आफ्नो सम्पूर्ण सम्पत्ति बेच्न चाहेको भने खुलासा गरेका थिए। जसमा उनको घर पनि समावेश छ। 

एलन मस्क अहिले विश्वकै दोस्रो ठूला धनाढ्य हुन्। ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार हाल एलन मस्कको सम्पत्ति १४५ अर्ब डलर रहेको छ। यो वर्ष हालसम्म मात्रै उनको सम्पत्ति ११८ अर्ब डलरले बढेको छ। – एजेन्सी