काठमाण्डौ । जापानको एक कम्पनीले उड्ने बाइक बनाएको छ। 

टोकियोमा रहेको ड्रोन स्टार्टअप कम्पनी एएलआई टेक्नोलोजीले उड्ने बाइक तयार गरेको हो। यो बाइकको नाम एक्सटीयुरिज्मो लिमिटेड एडिसन राखिएको छ। 

यो बाइकको सफल परीक्षणपछि कम्पनीले यसको बुकिङ गत अक्टोर २६ बाट खुला गरेको छ।

कम्पनीले हाल २०० वटामात्रै फ्लाइङ बाइक तयार गरेको छ। यो स्टार्टअप कम्पनीलाई मित्सुबिसी इलेक्ट्रिक र क्योसेराले सहयोग गरेको छ।

यो बाइक एकपटकमा ४० मिनेटसम्म उड्न सक्छ। यसको गति १०० किलोमिटर प्रतिघन्टा रहेको छ। 

यसमा पेट्रोलबाट चल्ने एउटा कन्भेन्सनल इन्जिनको प्रयोग गरिएको छ। बाइकको मोटरलाई पावर दिनका लागि ४ वटा ब्याट्री लगाइएको छ। 

यो बाइकको तौल करिब ३०० किलोग्राम छ। यसको लम्बाइ ३.७ मिटर, चौडाइ २.४ मिटर र उचाइ १.५ मिटर रहेको छ। 

हाल यो बाइकमा एकजनामात्रै सवार हुन सक्नेछन्। 

यो बाइकको मूल्य ७७.७ मिलियन येन अर्थात करिब ८ करोड १४ लाख रुपैयाँ तोकिएको छ।

कम्पनीले सन् २०२५ सम्म यो बाइकलाई पूर्ण रुपमा इलेक्ट्रिक भर्जनमा ल्याउने योजना बनाएको छ। – एजेन्सी