काठमाण्डौ । चीनमा एकाएक बढ्न थालेको कोभिड संक्रमितहरुको संख्याका कारण लकडाउनको सम्भावनालाई मध्यनजर गर्दै लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा विश्वका प्रमुख सेयर बजार परिसूचकहरुमा पहिरो गएको छ । 

चीनको मुख्य शहर संघाई तथा अन्य शहरहरुमा पनि कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि लकडाउन हुने सम्भावना आँकलन गर्दै लगानीकर्ता त्रसित हुँदा विश्वको सेयर बजार र कच्चा तेलको मूल्यमा एकैदिन पहिरो गएको हो । 

सिएनएन विजिनेशका अनुसार सोमबार चीनको संघई कम्पोजिट इण्डेक्समा एकैदिन ५.१ प्रतिशतको भीषण पहिरो गएको छ । एकैदिन ठूलो अंकले घटेको त्यहाँको बजार इण्डेक्स २२ महिनाकै न्यून विन्दूमा झरेको समाचारमा उल्लेख छ । 

कोरोना भाइरसको पहिलो लहर सुरु हुँदा सन् २०२० को फेब्रुअरी ३ पछि चीनको सेयर बजार सोमबार नै अत्यासलाग्दो विन्दूमा झरेको हो।

यस्तै, हङकङको ह्याङ सेङ इण्डेक्स पनि ३.७ प्रतिशतले घटेको छ । जापानको निक्केई १.९ प्रतिशत तथा कोरियाको कोस्पी इण्डेक्समा पनि १.७ प्रतिशतको गिरावट आएको छ । फ्रान्सको सेयर बजार परिसूचकमा पनि २.२ प्रतिशतको पहिरो गएको छ । 

गत शुक्रबार अमेरिकी सेयर बजारमा समेत एकाएक पहिरो जाने अवस्था देखिएको छ । यसकै प्रभाव सोमबारको एशियाली तथा यूरोपेली सेयर बजारमा परेको समाचारमा दाबी गरिएको छ । 

अमेरिकाको केन्द्रीय बैंकका चेयरम्यानले बैंक ब्याजदर आक्रामक ढंगले बढ्नसक्ने अभिव्यक्ति दिएसँगै डाउ इण्डेक्स ९८०(२.८ प्रतिशत) अंकले घटेको थियो । यस्तै, एस एण्ड पी ५०० र नेस्डेग इण्डेक्स २.५ प्रतिशतले घटेका थिए । 

चीनमा कोरोना संक्रमितको संख्या बढेको खबरसँगै सोमबार पनि अमेरिकी सेयर बजारमा गिरावटको यात्रा रोकिएन । डाउ इण्डेक्स ०.९ प्रतिशत तथा एस एण्ड पी र नेस्डेग इण्डेक्स पनि १ प्रतिशत हाराहारीले घटे । 

यस्तै, कोरोना संक्रमित बढेर विभिन्न क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थाहरु धमाधम लागू हुने क्रम तीव्र भएसँगै यसको प्रभाव कच्चा तेलको मूल्यमा समेत परेको छ । 

समाचारमा भनिएअनुसार अमेरिकाको बैंक ब्याजदर तीव्र रुपमा बढ्नसक्ने खबर र चीनमा कोरोना संक्रमण पुनः फैलिएको खबर लगायतका कारणले तेलको मूल्य एकैदिन ४ प्रतिशतले घट्न पुगेको छ । यूएस ओयल र ब्रेन्ट क्रूडकै मूल्यमा पहिरो गएको हो । 

चीन विश्वकै शक्ति राष्ट्रमध्येको एक हो । यसको आर्थिक वृद्धिदर सुस्त हुने वित्तिकै अन्तराष्टिय जगको माग र आपूर्ति नै प्रभावित हुने गर्छ । विश्वभरको सेयर बजारमा आएको तीव्र गिरावट र तेलको मूल्य पनि अप्रत्यासित गतिमा घट्न थाल्नुलाई सोहीअनुसार विश्लेषण गरिएको छ । 

आइतबार संघाईमा एकैदिन १९ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने ५१ संक्रमितको मृत्यु भएको थियो