काठमाण्डौ । विश्व स्वास्थ्य संगठनका प्रमुख, इथोपियन माइक्रोबायोलोजिष्ट टेड्रोस अधानोम घ्रेबेएससले कोरोना भाइरसविरुद्धको लडाइँमा आफूमाथि ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् । 

पछिल्लो समय उनीविरुद्ध दैनिकजसो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट कटू आलोचना आइरहेको छ । विश्व स्वास्थ्य संगठनको बजेट कटौति लगायतका धम्की दिंदै आएका ट्रम्पविरुद्ध ट्रेडोसले भाइरसलाई राजनीतिकरण नगर्न भन्दै कडा जवाफ दिइसकेका छन् । यही बीचमा आफूलाई मार्ने धम्की आएको उनले खुलासा गरेका हुन् । 

कोरोना भाइरसलाई निमिट्यान्न पार्न वैश्विक प्रयासहरु जारी राखेको आफूमाथि जातिवादसँग जोडेर अत्याचार गर्न थालिएको समेत उनले दाबी गरेका छन् । 

‘म तपाईलाई भन्न सक्छु कि ममाथिका व्यक्तिगत हमला प्रयासहरु विगत २–३ महिनाअघिदेखि नै भइरहेका छन् । यस्तै, मलाई यो दौरान हब्सी, नेग्रोजस्ता शब्दहरु प्रयोग गरी गालीगलौजका शब्दहरु पनि धेरै आएका छन्  । तर, म आफू कालो भएकोमा, नेग्रो भएकोमा गर्व गर्छु ।’ उनले भनेका छन् । 

आफूले यस्ता ज्यान मार्ने धम्की र आफूमाथिका गाली वेइज्जतीको विषयमा ध्यान नै नदिएको समेत उनले जेनेभास्थित विश्व स्वास्थ्य संगठनको हेडक्वार्टरमा भएको पत्रकार सम्मेलनमा बताएका छन् । 

टेड्रोसलाई पत्रकारहरुले डोनल्ड ट्रम्पबाट यस्तो धम्की र विभेदकारी गालीगलौजहरु भएका हुन् ? भनी प्रश्न गरेका थिए । तर, उनले त्यस्तो नभएको भन्दै पछिल्लो समय ताइवानबाट यस्ता धम्की र चेतावनीहरु आइरहेका दाबी गरेका छन् । 

‘तीन महिनाअघि यस्तो आक्रमणको धम्की ताइवानबाट आएको थियो । हामी प्रष्ट र इमानदार हुनुपर्छ । इमानदार भएर भन्दैछु, ताइवानबाट मलाई धम्की आएको थियो ।’ उनले भने–‘ताइवानको विदेश मन्त्रालयलाई समेत मविरुद्धको अभियान संचालन भएको थाहा छ ।’ 

तर, ताइवानले भने टेड्रोसको आरोपको खण्डन गरेको छ र त्यसलाई निराधार भनेको सिएनबिसीले जनाएको छ ।