काठमाण्डौ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वव्यापी अर्थतन्त्र खतरनाक रुपमा मन्दीतर्फ गइरहेको चेतावनी दिएका छन्। 

अध्यक्ष पालपासले गरिबहरुलाई लक्षित सहयोगका लागि पनि आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकको छेउमा मालपासले सञ्चारकर्मीसँग भने, ‘हामीले सन् २०२३ को विश्वको आर्थिक वृद्धिदरको प्रक्षेपण ३ प्रतिशतबाट घटाएर १.९ प्रतिशतमा पुर्याएका छौँ। विश्व अर्थतन्त्र खतरनाक रुपमा मन्दीतर्फ गइरहेको छ। विश्वव्यापी मन्दी निश्चित परिस्थितिहरुमा हुन सक्छ।’

मालपासले मुद्रास्फीतिको समस्या रहेको, ब्याजदर बढेको र विकासोन्मुख मुलुकतर्फ जाने पुँजीको प्रवाह रोकिएको बताए। ‘यसले गरिबलाई असर गरिरहेको छ’, उनले भने, ‘हामी विकासशील देशहरुमा मानिसहरुलाई अगाडि बढ्न मद्दत गर्ने कुरामा केन्द्रित छौँ। अवश्य पनि सबै देशहरु फरक छन्, हामी केही देशहरुमा छलफल गर्नेछौँ।’

मालपासले विकासोन्मुख मुलुकमा ऋण बढ्नुको कारण उच्च ब्याजदर रहेको बताए। ‘एकातिर ऋण बढिरहेको छ भने अर्कोतिर मुद्राको अवमूल्यन भइरहेको छ’, मालपासले भने, ‘मुद्राको मूल्यमा आएको गिरावटले ऋणको बोझ थपिरहेको छ। विकासोन्मुख देशहरुले ऋण संकटको समस्या सामना गरिरहेका छन्।’

मालपासले बहुपक्षीय संस्थाका तर्फबाट गरिबहरूलाई लक्षित सहयोग गर्न पनि आह्वान गरेका छन्। –एजेन्सी