काठमाण्डौ । भारतीय मूलका अजय बंगा विश्व बैंकको अध्यक्ष बन्ने भएका छन्। 

बुधबार विश्व बैंकको नयाँ अध्यक्षमा बंगाको नाम अनुमोदन भएको हो। यसअघि उनको नाम अमेरिकी राष्ट्रपति जो बाइडेनले मनोनयन गरेका थिए। 

अजयलाई ५ वर्षका लागि विश्व बैंकको अध्यक्ष बनाइनेछ। बंगाले जुन २ मा विश्व बैंकका वर्तमान अध्यक्ष डेभिड मालपासको स्थान लिनेछन्।

बंगाको नियुक्तिका बारेमा जानकारी दिँदै विश्व बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विश्व बैंकका कार्यकारी निर्देशकहरुले आज अजय बंगालाई ५ वर्षका लागि अध्यक्षमा निर्वाचित गरेका छन्। उनको पाँचवर्षे कार्यकाल २०२३ जुन २ गतेबाट सुरु हुनेछ।’

बंगा मास्टरकार्ड इंकका पूर्वप्रमुख हुन्। उनी हाल जनरल एट्लान्टिकको उपाध्यक्षका रुपमा सेवारत छन्। 

बंगा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख वित्तीय संस्थाहरुमध्ये कुनै एक भारतीय मूलको पहिलो व्यक्ति हुन्। उनी भारतमा हुर्केका हुन्। भारत सरकारले सन् २०१६ मा बंगालाई पद्मश्री पुरस्कारबाट पनि सम्मानित गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत फेब्रुअरीमा ६३ वर्षीय बंगालाई विश्व बैंकको प्रमुख पदका लागि मनोनयन गर्ने घोषणा गरेका थिए। बाइडेनले इतिहासको यो महत्वपूर्ण घडीमा बंगाले यस विश्वव्यापी संस्थाको नेतृत्व गर्न सक्षम रहेको बताएका थिए।

को हुन् अजय बंगा ?

  • अजय बंगाको जन्म भारतको महाराष्ट्रको पुणेमा सिख परिवारमा भएको थियो। उनी भारतीय परिवारमा हुर्केका थिए।
  • अजय बंगाका पिता हरभजन सिंह बंगा (सेवानिवृत्त) भारतीय सेनामा लेफ्टिनेन्ट जनरल थिए। सेनाको परिवार भएकाले बंगाले बुवासँग देशैभर यात्रा गरे।
  • सन् २००७ मा उनले अमेरिकी नागरिकता पाएका थिए।
  • बंगाले १९८० को दशकको प्रारम्भमा नेस्लेको भारतीय सहायक कम्पनीबाट भारतमा आफ्नो करियर सुरु गरे।
  • बंगाले २०१० र २०२१ को बीचमा एक दशकभन्दा बढी समयसम्म भुक्तानी कम्पनी मास्टरकार्डको सीईओका रुपमा काम गरे।
  • यसका अलावा बंगाले अमेरिकन रेड क्रस, क्राफ्ट फुड्स र डाउ इंकको बोर्डहरुमा पनि सेवा गरिसकेका छन्।

अजय बंगा मनविन्दर ‘विन्डी’ सिंह बंगाका कान्छो भाइ हुन्। जसले हिन्दुस्तान युनिलिभरको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि सेवा गरेका थिए। उनले फर्ममा तीन दशकभन्दा बढी समय काम गरे र हाल निजी इक्विटी कोष क्लेटन, डुबिलियर र राइसमा वरिष्ठ साझेदार छन्। –एजेन्सी