काठमाण्डौ । राष्ट्रबैंकको निर्देशन अनुसार सिटिजन्स बैंक इन्टरनेशनलले प्रादेशिक स्तरको कार्यालय धमाधम संचालन गर्न थालेको छ । 

केही दिनअघि विराटनगरमा १ नम्बर प्रदेश कार्यालय स्थापना गरी औपचारिक संचालनमा ल्याएको बैंकले पुस १५ गतेदेखि प्रदेश नम्बर २ को प्रादेशिक कार्यालय वीरगञ्जको आदर्शनगरमा स्थापना गरेको हो ।

सो कार्यालयको आरम्भ एक समारोहका बीच गरिएको थियो । जसमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ-संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रदेश नं २ अन्तर्गत बैंकका ८ वटा शाखाहरु(बीरगञ्ज, औरही, बर्दिवास, गौशाला, जनकपुर, निजगढ, पथलैया तथा कोल्हवी)बाट व्यापार बिस्तारकासाथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।