काठमाण्डौ । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिका कारण धेरै ऋण भएका अर्थतन्त्रमा गम्भीर समस्या निम्त्याउनसक्ने चेतावनी दिएका छन् । 

यूएस फेडेरल रिजर्भ, यूरोपियन बैंकहरु र अन्यले दरहरु बढाएका र उच्च मुद्रास्फितिलाई कम गर्नका लागि तिनीहरु अपेक्षाभन्दा बढी उच्च रहनसक्ने समेत उनले चेतावनी दिएका छन् । 

अन्तराष्ट्रिय मुद्राकोषले पनि मंगलबार भनेको छ कि विश्व अर्थतन्त्र कोभिड, यूक्रेन युद्ध र जीवनयापनमा लागतको संकटको बाबजुद लचिलो छ । तर, यो अझै सुस्त अवस्था नै हो, दौडिसकेको चाहिँ होइन । 

विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमिट गिलले चाहि बुधबार भने–‘यी सबै झट्काको बाबजुद हामीले कुनै पनि ठूला अर्थतन्त्रलाई वास्तवमै समस्यामा परेको देखेका छैनौं । तर, राम्रो समाचार मूलतः त्यहीँ समाप्त हुन्छ ।’ 

उनले सोही क्रममा ब्याजदर वृद्धिले ऋणको सामना गर्न संघर्ष गरिरहेका देशहरुका लागि समस्या निम्त्याउनसक्ने चेतावनी समेत दिए । 

‘अहिले यो समस्या छ कि तपाईंले उल्लेख गर्नुभएको उच्च दर वा उच्च ब्याजदरका कारण अर्थतन्त्रको वृद्धिदर धेरै सुस्त छ ।’ उनले मोरक्कोको माराकेशमा आइएमएफ विश्व बैंकको वार्षिक बैठकको क्रममा आयोजित पत्रकार सम्मेलनमा भने । 

गिलले उच्च ब्याजदरकै कारण सन् १९७० मा विश्वका २४ वटा अर्थतन्त्र टाट पल्टिएका घटना समेत सो क्रममा स्मरण गरेका थिए । 
‘हामीले यो कडाईको चक्र पनि लामो समयसम्म रहने आशा गर्नुपर्दछ ।’ उनले भने–‘हामीले अब केही देशहरु समस्या पर्नसक्ने अपेक्षा गर्नसक्छौं । यो अब चाँडै हुनेवाला छ।’ 

विश्व बैंकका अध्यक्ष अजय बंगले मुद्रास्फिति घट्न थालेकोमा कुनै शंका नभएको, तर त्यो दर अझै लामो समयसम्मै उच्च रहने दाबी गरे । 

‘यो लगानीका लागि धेरै तरिकामा जटिल घटना हुनसक्छ । साथै यो अवस्था वर्षौदेखि कम ब्याजदरको वातावरणमा अभ्यस्त भएका मानिसहरुका लागि समेत यो अवस्था सकसपूर्ण हुनसक्छ ।’–उनले थपे ।