काठमाण्डौ । वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा खूद नाफामा करिब ३ करोडको वृद्धि हासिल गरेको छ । 

अघिल्लो वर्ष ४ करोड नाफा कमाएको यो विकास बैंकले यो वर्ष करिब ७ करोड नाफा आर्जन गरेको हो । प्रगतिको हिसाबले नाफामा यो बैंकले छलांग नै मारेको देखिन्छ । 

व्यवसाय बिस्तारमा आक्रामक नीति अवलम्बन गरेका कारण खूद ब्याज आम्दानीतर्फ करिब दोब्बरले प्रगति भएको देखिएको छ । अघिल्लो वर्ष ६ करोड ३२ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ११ करोड ४१ लखको उचाईमा पुुगेको छ । यस्तै, ६ करोड ३२ लाखमा सीमित संचालन मुनाफा बढेर १० करोड ९१ लख पुुगेको छ । 

वेस्टर्न डेभलपमेन्ट बैंकले यो अवधिमा २ अर्ब ४५ करोड निक्षेप संकलन गरी १ अर्ब ९३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब १५ करोड निक्षेप संकलन गरी १ अर्ब ४९ करोड कर्जा परिचालन गरेको थियो ।

यो बैंकले रिजर्ब करिब चार गुणाले वृद्धि भएको छ । अघिल्लो वर्षसम्म २ करोड ४४ लाखमा सीमित जगेडा कोष बढेर यो वर्ष ८ करोड ६२ लाखको उचाईमा पुुगेको छ । 

यो बैंकको लागत खर्च सामान्यले मात्र बढेको छ । अघिल्लो वर्ष ६.०१ प्रतिशत रहेको लागत खर्च यो वर्ष ६.३१ प्रतिशत कायम भएको हो । 

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी २०.२५ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२४.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.३० गुणा कायम भएको छ ।