काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथसाथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

यही क्रममा बैंकले पाचौं शाखारहित बैंकिङ्ग सेवा वैशाख ११ गते बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको छ । 

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले गरेका थिए । सो शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि बैंकले प्रतिनिधिको रुपमा सन्तकुमार तामाङलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फतबाट बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारका लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग  बानीको विकास हुने विश्वास बैंकले लिएको छ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवाको (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।