काठमाण्डौ । जनता बैंक नेपालले बुधबार एकैदिन एकसाथ काठमाण्डौ उपत्यकामा ३ र उपत्यकाबाहिर ३ गरी ६ स्थानमा शाखा खोली औपचारिक कारोबार थालेको छ । 

बैंकले भक्तपुरको नयाँठिमी, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो ।

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राखेका थिए । 

यसैगरी, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले उद्घाटन गरे । 

नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधालगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने बैंकले जनाएको छ । 

यसैबीच, तनहुँको डुम्रेमा शाखा उद्घाटन सँगै सस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ । 

यससँगै जनता बैंकको शाखा सञ्जाल पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुलासम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ । यससँगै बैंकले ५० शाखारहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउण्टर तथा १०३ एटिएमहरुमार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पुर्याउँदै आइरहेको छ ।