– मनिष सोती

काठमाण्डौ । भारतको एलआईसी इन्डियाका एजेन्ट रितु नन्दाले एकैदिनमा १७ हजार पेन्सन पोलिसी बिक्री गरेर नयाँ रेडर्क कायम गरेकी थिइन्। झट्ट सुन्दा एकै अभिकर्ताबाट त्यति धेरै पोलिसी बिक्री हुन सक्छ र ? भन्ने प्रश्न र जिज्ञासा आउन सक्छ। तर, यो वास्तविक नै हो। 

नेपालको बीमा क्षेत्रको परिपेक्ष्यमा पनि एक अभिकर्ताबाट एकैदिन ३५० वटाभन्दा बढी पोलिसी बिक्री गरेको रेकर्ड रहेको छ। नेपालमा अभिकर्ताबाटै एकैदिन १०० भन्दा बढी पोलिसी बिक्री भएको कमै उदाहरण छन्। 

यसरी एकैदिन १०० भन्दा बढी पोलिसी बिक्री गर्न सफल भएका छन् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ता बोधदीप तिमल्सिना। उनले गत भदौ १ गते एकैदिन १०१ वटा पोलिसी बिक्री गरेका छन्। 

अथक मेहनत र निरन्तरको प्रयासपछि आफूले एकैदिन यतिधेरै पोलिसी बिक्री गर्न सकेको तिमल्सिना बताउँछन्। ‘अन्य ठूला सहरमा जन्मिएको भए धेरै प्रिमियम संकलन गर्थे होला तर ग्रामीण भेगमा जन्मिएर स–साना बीमांक रकमको बीमा गराएर भए पनि नयाँ रेकर्ड राखौँ भन्ने सोच राखेको छु’, तिमल्सिनाले भने, ‘बीमा गराउनु मेरा लागि आर्थिक विकासमात्रै नभई सामाजिक कार्य पनि हो, बीमा क्षेत्रमा प्रवेशपछि निकै आत्मसन्तुष्टि मिलेको छ।’

विसं. २०७५ सालमा साबिक रिलायन्स लाइफ इन्स्योरेन्सबाट बीमा क्षेत्रमा प्रवेश गरेका तिमल्सिनाको यतिबेला जीवनशैली नै परिवर्तन भएको छ। बीमा क्षेत्रमा अभिकर्ताका रुपमा प्रवेशपछि व्यक्तित्व विकाससँगै आर्थिक विकास, सामाजिक कार्यमा अभिरुचि, समयको महत्व र मान्छेसँगको सम्बन्ध विकासमा टेवा पुगेको उनी बताउँछन्। ‘बीमा अभिकर्ता भइसकेपछि कोसँग कसरी बोल्ने, कस्तो सम्बन्ध राख्ने, आवेगमा नआउनेजस्ता कुराहरुमा ध्यान जाने रहेछ’, उनले भने, ‘आर्थिक पाटो बलियो हुने कुरा त छँदैछ तर योभन्दा ठूलो कुरा सामाजिक कार्य गरिरहेको छुजस्तो अनुभव हुन्छ।’ 

बाराको निजगढ नगरपालिका–६ सडकटोलमा जन्मिएका तिमल्सिना सक्षम बीमा अभिकर्ताका साथसाथै एक कुशल शिक्षकसमेत हुन्। निजगढको गौरी शंकर माध्यमिक विद्यालयमा उनी विगत १८ वर्षदेखि शिक्षकका रुपमा कार्यरत छन्। ‘बिहानीसत्र ११–१२ बजेसम्म विद्यालयमा समाजशास्त्र विषय पढाउँछु, दिउँसोको समय बीमा क्षेत्रमा नै बित्छ’, उनले भने। 

हाल तिमल्सिनाको परिवार नै बीमा अभिकर्ताका रुपमा सक्रिय छन्। उनले आफ्नो र परिवारमा रहेका सदस्यको कोडबाट हालसम्म १ करोडको प्रिमियम भित्र्याइसकेका छन्। ‘परिवारका सदस्यको कोडसहित वार्षिक ४० लाख रुपैयाँबराबरको बिजनेस हुन्छ’, उनले भने, ‘मेरो र परिवारको गरी सबै कोडबाट वार्षिक २० लाख रुपैयाँसम्मको आम्दानी हुन्छ।’ 

अभिकर्ता पेसाबाट पनि मनग्य आम्दानी हुने तिमल्सिनाको धारणा छ। उनले यो पेसाबाट विलासी जीवन जिउन सकिने पनि बताए। ‘जुन क्षेत्रमा पनि मेहनत र लगनशीलताको खाँचो पर्छ’, उनले भने, ‘अभिकर्ता पेसामा पनि आफ्नो लगनशीलता कायम राख्दै मेहनत गर्ने हो भने आर्थिक रुपमा सबल हुने निश्चित छ।’

पछिल्लो समय केही बीमा अभिकर्ताको लापारबाहीले गर्दा अभिकर्ता पेसाप्रति नै नकारात्मक धारणा फैलिएको तिमल्सिना बताउँछन्। ‘नेटवर्किङ बिजनेसले बीमा क्षेत्रलाई प्रभाव पारेको छ’, उनले भने, ‘केही एजेन्टमार्फत कम्पनी नै ध्वस्त बनाउने कार्य भइरहेको छ, यसले गर्दा लगनशील अभिकर्ताप्रति समेत नराम्रो छाप परेको छ।’ 

हिजोको दिनभन्दा आज समाज परिवर्तन भइसकेको उल्लेख गर्दै तिमल्सिना बीमितहरुमा बीमाको चेतना आइसकेको बताउँछन्। एजेन्टहरुले नै बीमितसँग राम्रो डिल गर्न नसक्दा पोलिसी सरेन्डर बढ्दै गएको उनको बुझाइ छ। ‘एजेन्टहरुले बीमितको जिम्मेवारी लिन सक्नुपर्छ, बीमितसँग प्रत्यक्ष डिल गर्न नसक्दा, भुक्तानी प्रक्रियाका विषयमा बुझाउन नसक्दा पोलिसी समर्पण गर्नेको संख्याका बढ्दै गएको हो’, उनले भने, ‘यसमा कम्पनीभन्दा अभिकर्ताहरु नै बढी जिम्मेवारी छन्।’

नेपालको सन्दर्भमा इकोनोमिक क्राइसिसले गर्दा बीमा अभिकर्ताका लागि नयाँ व्यवसाय भित्र्याउन थप चुनौती रहेको तिमल्सिनाको भनाइ छ। ‘बीमा गराउँदा बीमितको ग्यारेन्टी लिन सक्नुपर्छ, भुक्तानीका प्रक्रिया लगायत पोलिसीका विषयमा राम्रोसँगा बुझाउँदा बीमा गराउनै नसकिने पनि होइन’, उनले भने, ‘तर, अभिकर्ताले कुन पोलिसी कुन उमेर समूहका व्यक्तिलाई बेच्दा ठीक हुन्छ भन्नेमा भने प्रस्ट हुन जरुरी छ।’ 

हालसम्म तिमल्सिनाले लगभग ७०० सेवाग्राहीसमक्ष पोलिसी बेचिसकेका छन्। आजसम्म आफूले पोलिसी बिक्री गरेका बीमितहरुबाट सरेन्डर नभएको उनी दाबी गर्छन्। ‘सबैभन्दा पहिले बीमितको ग्यारेन्टी लिई पोलिसीका बारेमा बुझाउन सक्नुपर्छ, योसँगै बीमाले सुरक्षा, बचतका फाइदा, दुर्घटना हुँदाका फाइदा, घातक रोग लाग्दाका फाइदाका बारेमा बुझाउन सकेमा बीमितहरुले सहजै बीमाका बारेमा बुझ्न सक्छन्’, उनले भने, ‘बीमा गर्नुअगावै सबै कुरा प्रस्ट भएमा बीमितहरुबाट सरेन्डर हुने अवस्था आउँदैन।’

यसका साथै कम्पनीहरुले पनि बीमा अभिकर्ताहरुलाई निरन्तर तालिम प्रदान गर्नुपर्ने तिमल्सिनाको सुझाव छ। ‘अभिकर्ताहरु बीमा अभिकर्ताको तालिममा अनिवार्य रुपमा सहभागी हुन जरुरी छ। कम्पनीले दिइरहेको राम्रो कुरासमेत बीमितमाझ बुझाउन नसक्दा सरेन्डरको संख्या बढ्दै गएको हो’, उनले भने।

यतिबेला तिमल्स्निाले निजगढमा एजेन्सी कार्यालय प्रमुखको जिम्मेवारीसमेत पाएका छन्। ग्रुपमा उनले ८० भन्दा बढी जनाको लिड गरिरहेका छन्। छिट्टै २००–३०० बीमितमाझ बीमा जनचेतना कार्यक्रम गर्ने उनको योजना छ। 

पाँच वर्षको बीमा यात्रामा तिमल्सिनाले थुप्रै अवार्डहरुसमेत पाइसकेका छन्। हेटौँडा ब्रान्चको टिम बिजनेस टपर, बुटवल रिजनको फस्र्ट टपरजस्ता विधामा उनले अवार्डहरु पाइसकेका छन्।

यसका साथै राष्ट्रियस्तरको डायमन्ड क्लबसम्मको अचिभमेन्टसमेत प्राप्त गरेको तिमल्सिना सुनाउँछन्। ‘अबको टार्गेट भनेको २०२३–२४ का लागि एमडीआरटी हुनु हो’, उनले भने। 

हेटौँडा ब्रान्चका पूर्वब्रान्च म्यानेजर नवीन राज खरेलका माध्यमबाट बीमा क्षेत्रमा प्रवेश गरे पनि यस यात्रामा हेटौँडा ब्रान्चका एरिया म्यानेजर सूर्य गिरीले ठूलो सहयोग गरेको तिमल्सिना बताउँछन्। ‘बीमा क्षेत्रमा सफल अभिकर्ता बन्न सूर्य सरको ठूलो सहयोग रहेको छ’, उनी भन्छन्, ‘गौरीशंकर माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, घरपरिवार, छरछिमेक तथा मेरा साथीभाइ र आफन्तहरुले पनि मलाई यस दौरानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुभएको छ, म आज मेरो सफलताको श्रेय सम्पूर्णलाई दिन चाहन्छु।’

आगामी दिनमा पनि एक कुशल बीमा अभिकर्ताका रुपमा बीमा क्षेत्रमा नै आबद्ध रहने तिमल्सिनाको प्रतिबद्धता छ। बीमा क्षेत्रको भविष्य अझै उज्ज्वल देखेका उनले नेपाली बीमा बजारमा अझै धेरै व्यवसाय गरेर जनताको मत जित्दै अघि बढ्ने लक्ष्य लिएका छन्।