काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा अघिल्लो आबको सोही अवधिको तुलनामा नाफामा कमालको प्रगति हासिल गरेको निर्जिवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले लगानीकर्तालाई पनि मालामाल बनाउने निर्णय गरेको छ । 

इन्स्योरेन्सको सोमबार साँझ सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश वितरणको निर्णय गरेको स्रोतले बताएको छ । 

‘संचालक समितिको निर्णय हामीले आजै नेपाल स्टक एक्सचेञ्जलाई पनि पठाएका छौ ।’ इन्स्योेरेन्सस्थित एक स्रोतले बिजशालासँग भन्यो–‘शिखर इन्स्योरेन्सको इतिहासमै पनि ६० प्रतिशत बोनस सर्वाधिक हो ।’ यो समाचार तयार पार्दासम्म शिखरको बोर्ड निर्णयको बिषयमा नेप्सेले केही पनि सार्वजनिक गरेको छैन । 

अघिल्लो वर्ष यो कम्पनीले २४ प्रतिशत बोनस वितरण गरेको थियो । त्यसअघिका वर्षहरुमा २० प्रतिशतको हाराहारीमा बोनस वितरण गरिएको थियो । 

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमाससम्ममा ३१ करोड २ लाख खूद नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७१/७२ मा यो कम्पनीको खूद नाफा २२ करोडको हाराहारीमा सीमित थियो । 

स्रोतका अनुसार गत वर्ष १० करोडले वृद्धि भएको खूद नाफा र जगेडा कोषको उपयोग गरी ६० प्रतिशत बोनसको प्रस्ताव गरिएको हो । गत आर्थिक वर्षको अन्तसम्ममा शिखरको जगेडा कोषमा करिब ४६ करोड रुपैयाँ जम्मा भएको छ । 

शिखर इन्स्योरेन्सको चुक्तापूँजी ५० करोड ९८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ६० प्रतिशत बोनस नियामकबाट स्वीकृत भएर वितरणपछि कम्पनीको चुक्तापूँजी ८० करोड बढी पुग्ने बताइएको छ । 

आर्थिक  वर्ष २०७२/७३ मा २३ प्रतिशतको हाराहारीमा वृद्धि भएको नेपालको निर्जिवन बिमा बजारमा यो कम्पनीले करिब ५० प्रतिशतको वृद्धि हासिल गरी नेपाली बिमा बजारमा रु.२ सय करोडको बिमा शुल्क आर्जन गर्ने पहिलो कम्पनीको रुपमा स्थापित हुने सफलता समेत पाइसकेको छ ।