काठमाण्डौ । निर्जिवन बिमा कम्पनीहरुमा टप शिखर इन्स्योरेन्सले कम्पनीमा रहेको सर्वसाधारणतर्फको सेयर स्वामित्व बढाएर संस्थापकको स्वामित्व घटाउने उद्देश्यले पुनः साधारण सेयरको अतिरिक्त निश्कासन गर्ने भएको छ । 

यही उद्देश्यले यो कम्पनीले आगामी पुस ८ गते १२ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालयमा हुने जनाइएको छ । 

यो बिमा कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई सर्वाधिक ६० प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । यो निर्णयलाई समेत वार्षिक साधारणसभाले मार्ग प्रशस्त गर्नेछ । बोनससँगै साधारणसभामा थप १० प्रतिशत साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ)को प्रस्ताव समेत पेश हुने कम्पनीले बिहीबार प्रकाशित गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

यसअघि शिखरले १० प्रतिशत सेयर एफपीओ गरी कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० कायम गरेको थियो । आगामी वार्षिक साधारणसभामा पेश हुने भनिएको १० प्रतिशत एफपीओ निश्कासनको प्रस्ताव पास भएमा यसअघिको सेयर संरचना ६०ः४० मा रुपान्तरण हुनेछ । 

शिखर इन्स्योरेन्सले १३ करोड ६० लाख रुपैयाँ बराबरको अतिरिक्त निश्कासन गर्ने प्रस्ताव गरेको हो । यो बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ७० लाख खूद नाफा आर्जन गरेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ५० करोड ९८ लाख रहेको छ । ६० प्रतिशत बोनस सेयरपछि चुक्तापूँजी ८१ करोड ५८ लाख रुपैयाँ पुुग्नेछ । प्रस्तावित एफपीओ समेत निश्कासनपछि शिखर इन्स्योरेन्सको कुल चुक्तापूँजी ९५ करोड १८ लाख पुुग्नेछ ।