काठमाण्डौ । शिखर इन्स्योरेन्स मर्जरमा जाने भएको छ । 

सो इन्स्योरेन्स कम्पनीका एक संचालकका अनुसार बढीमा २ महिनाभित्रमा देशकै राम्रो अर्को निर्जीवन बिमा कम्पनीसँग शिखरको मर्जर सम्झौता हुने संभावना बढेको हो । 

'देशमा बढेको निर्जीवन बीमाको स्कोपलाई टार्गेट गरी अझ ठूलो आकारको हुने योजनाअनुसार हामी मर्जरमा जान लागेको हौं ।' ती संचालकले भने-'अहिले ३ वटा कम्पनीसँग कुराकानी अगाडि बढेको छ । ति तीनवटैमध्येको एउटासँग मर्जरको कुरा मिल्ने संभावना छ ।' 

उनकाअनुसार शिखरको मर्जरमा जाने योजना अघिल्लो आर्थिक वर्षदेखिकै हो । तर, कोरोना प्रभाव लगायत केही प्राविधिक कठिनाईका कारण मर्जरको योजनाले साकार रुप पाउन नसकेको, तर अब भने छलफल अगाडि बढाइएको बताए । 

'तपाईहरुलाई हामी डेढदेखि २ महिनाभित्रमा मर्जरको कुनै न कुनै गुड न्यूज सुनाउनेछौ ।' ती संचालकले बिजशालासँग भने-'हामी मर्जरमा जाँदा कमजोर कम्पनी लिँदैनौं, राम्रै कम्पनीलाई मर्जर गरी व्यवसायको आकार ठूलो बनाउने योजना हो ।' 

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप पाण्डेले पनि मर्जरमा जाने कम्पनीको तयारीको बारेमा पुष्टि गर्दै ३ कम्पनीसँग छलफल भइरहेको र बाँकी कुरा एमओयू हुने बेलामै खुलाउने बताए ।

देशकै अग्रणी र ठूलो निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित शिखरले मर्जरको बाटो समातेको खण्डमा त्यसले अन्य कम्पनीहरुलाई पनि मर्जरमा गएर ठूलो साइजको बन्न र प्रतिस्पर्धी हुन दवाब पर्नेछ । जसका कारण देशमा निर्जीवन बीमा कम्पनीको संख्या घट्ने बताइएको छ । 

कम्पनीहरुको पूँजी र विजिनेशको आकार ठूलो भएको खण्डमा उनीहरुबाट प्रवाह हुने सेवा समेत राम्रो हुने र सेवाग्राहीले बिनाझञ्झट आधुनिक ढंगबाट राम्रो बीमा सेवा पाउने समेत अपेक्षा गर्न सकिन्छ ।