काठमाण्डौ । चैत २९ गते शुक्रबारका दिन बैंक तथा वित्तीय संस्थाहरुले पूरै दिन कार्यालय खोल्नुपर्ने भएको छ । 

नेपाल राष्ट्रबैंकले बिहीबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गर्दै शुक्रबार पनि राजश्व बुझ्ने बैंकका शाखा तथा काउण्टर पूरै दिन कार्यालय समयसम्म खुल्ला राख्न भनेको हो । 

तेश्रो त्रैमासको अन्तिम केही दिन बैंक तथा वित्तीय संस्थाहरुमा राजश्व र कर बुझाउने घुइँचो लाग्छ । यही कुरालाई मध्यनजर गरी अर्थमन्त्रालयको निर्देशन अनुसार राष्ट्रबैंक मातहतका निकायलाई शुक्रबार पनि पूरा दिन काम गर्न निर्देशन दिएको हो । 

अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाले बिहीबार नै राष्ट्रबैंकलाई परिपत्र गरी चैत महिनाको आयकरको दोश्रो किस्ता बुझाउने महिना भएको र अधिकांश करदाताले महिनाको अन्तिमतिर मात्र कर दाखिला गर्ने हुँदा चैत २९ गते शुक्रबार परेकोले सो दिन समेत राजश्व बुझ्ने सबै बैंकहरुको शाखा तथा काउण्टर पूरा समय खुल्ला गरी नियमित रुपमा राजश्व बुझाउने व्यवस्था मिलाउन भनेको थियो । 

यो दिन राजश्व बुझ्ने बैंक तथा चेक क्लियरिङ गर्ने नेपाल क्लियरिंग हाउस समेत पूरा दिन खुल्नेछ । 

यसअघि राष्ट्रबैंकले चैत ३० गते शनिवार परे पनि सो दिन समेत राजश्व बुझ्ने बैंक शाखा र काउण्टर राति अबेरसम्मै खुल्ला राख्न मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर गरिसकेको छ ।