 
                     
                                
                             
                                    काठमाण्डौ । कुनै बेला ‘सुनको लंका’ का नामले परिचित सार्कको सदस्यको राष्ट्र श्रीलंका यतिबेला गहिरो आर्थिक संकटमा फसेको छ।
श्रीलंकाको विदेशी ऋण एकातर्फ रेकर्डतोड उचाइमा पुगेको छ भने अर्कोतर्फ विदेशी मुद्राको भण्डार अहिलेसम्मकै निम्न स्तरमा पुगेको छ। अवस्था यतिसम्म गम्भीर बनेको छ कि मानिसहरुले खाने–पिउने सामानहरु खरिद गर्न सकिरहेका छैनन्। यस्तै अवस्था पेट्रोल–डिजेलमा पनि छ।
दिनानुदिन खस्किँदो अवस्थाका कारण श्रीलंका सरकारले आर्थिक संकटकालको घोषणा गर्नुका साथै सेना परिचालन गरेर खाद्य सामग्री वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ। श्रीलंकाको विदेशी मुद्राको सञ्चिती रित्तने अवस्थामा पुगेको छ। राष्ट्रिय मुद्राको मूल्य निरन्तर ओरालो लागिरहेको छ।
श्रीलंकाको आर्थिक अवस्था बिग्रिनुका कारणहरु के–के हुन् त ?
१. अर्गानिक खेतीमा जोड, रासायनिक मलमा प्रतिबन्ध
अर्गानिक खेतीमा जोड दिने र रासायनिक मलमा प्रतिबन्ध लगाउने श्रीलंका सरकारले गरेको हालैको निर्णयलाई अहिलेको अवस्थाको मुख्य कारकमा रुपमा लिइएको छ। श्रीलंका सरकारले देशमा रासायनिक मलमा पूर्ण प्रतिबन्ध लगाउँदै सतप्रतिशत अर्गानिक खेती गर्ने निर्णय गरेको थियो। अचानक र अप्रयात्सित रुपमा गरिएको यो निर्णयले श्रीलंकाको कृषि क्षेत्रलाई गहिरो प्रभाव पार्यो। एक अनुमानका अनुसार सरकारको यो निर्णयका कारण श्रीलंकाको कृषि उत्पादन आधिले घटेको छ। परिणामस्वरुप देशमा चामल र चिनीको अभाव देखिएको छ। यस्तै अन्न भण्डारण गर्ने होडबाजीले समस्या अझै विकराल बनेको छ।
२. खस्किँदो पर्यटन क्षेत्र
श्रीलंकाको अर्थतन्त्रमा कृषिपश्चात पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहँदै आएको छ। सरकारी तथ्यांकका अनुसार श्रीलंकाको कुल जीडीपीमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत रहेको छ। कोरोना महामारीको सुरुआतपछि अर्थात करिब २ वर्षदेखि पर्यटन श्रीलंकाको पर्यटन क्षेत्र ध्वस्त बनेको छ। श्रीलंकामा सबैभन्दा धेरै बेलायत, रुस र भारतका पर्यटकको आगमन हुने गर्छ। तर, कोरोना महामारीका कारण लगाइएका प्रतिबन्धहरुका कारण पर्यटकको आगमनमा कमी आएको छ। गहिरिँदो आर्थिक संकटका कारण अहिले विश्वका कयौँ देशहरुले आफ्ना नागरिकहरुलाई श्रीलंकाको यात्रा गर्नबाट बच्न सल्लाह दिइरहेका छन्। विदेशी मुद्रा सटहीमा समस्या हुन सक्ने भन्दै क्यानडाले हालै आफ्ना नागरिकहरुलाई यस्तो एड्भाईजरी जारी गरेको छ। यस्ता घटनाहरुका कारण श्रीलंकाको आय प्रभावित बनेको छ।
३. चिनियाँ ऋणको जालो र विदेशी कर्जा
जब विश्वभरका विश्लेषकहरुले चिनियाँ ऋणको जालोका बारेमा चर्चा गर्छन् तब स्वभाविक रुपमा श्रीलंकाको उदाहरण दिने गर्छन्। श्रीलंकामा चीनको मात्रै केवल ५ बिलियन डलरभन्दा धेरै ऋण रहेको छ। यस्तै भारत र जापानका अलावा अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)जस्ता संस्थाहरुको ऋणको बोझसमेत श्रीलंका सरकारमाथि छ। सरकारी तथ्यांकका अनुसार सन् २०२१ अप्रिलसम्म श्रीलंकामाथि कुल ३५ बिलियन डलरबराबरको ऋणको बोझ थियो। आर्थिक संकटबाट घेरिएको यो सानो टापु देशमाथि विदेशी ऋणको महंगो ब्याज भुक्तानी गर्नुपर्ने दबाब रहेको छ। जसका कारण देशको आर्थिक अवस्था अझै खस्किँदै छ।
४. विदेशी मुद्राको सञ्चितीमा कमी, स्वेदेशी मुद्राको घट्दो मूल्य
विदेशी मुद्रा सञ्चितीका विषयमा पनि श्रीलंकाले ठूलो समस्याको सामना गर्नुपरिरहेको छ। तीन वर्षअघि नयाँ सरकार गठन हुँदा श्रीलंकासँग ७.५ बिलियन डलरबराबरको विदेशी मुद्राको सञ्चिती थियो। तर, विविध कारणले विदेशी मुद्राको भण्डारणमा तीव्र गिरावट आउन थाल्यो र सन् २०२१ जुलाई महिनासम्ममा यो केवल २.८ बिलियन डलरमा सीमित भयो। अझ गत वर्षको नोभेम्बरसम्म आइपुग्दा श्रीलंकाको विदेशी मुद्राको सञ्चिती १.५८ बिलियन डलरमा खुम्चिएको थियो। घट्दो सञ्चितीका कारण यतिबेला श्रीलंकासँग विदेशी ऋणको किस्ता तिर्ने विदेशी मुद्रासमेत अभाव छ।
आईएमएफले हालै सार्वजनिक गरेको रिपोर्टमा श्रीलंकाको अर्थतन्त्र टाट पल्टने अवस्थामा पुगेको जनाएको छ। विदेशी मुद्राको भण्डारण कम हुँदा श्रीलंकाको स्वदेशी मुद्राको मूल्यमा समेत गिरावट आइरहेको छ। जसका कारण विदेशी मुद्रा विनिमयसँग सम्बन्धित समस्याहरु उत्पन्न भइरहेको छ।
५. चिनी, दाल र अन्नजस्ता खाद्यान्नका लागि समेत आयातको भर
श्रीलंकाको वर्तमान अवस्था गम्भीर बन्नुका पछाडि आयातमाथिको अधिक निर्भरता एउटा महत्वपूर्ण कारण हो। श्रीलंका चिनी, दाल, अन्न र औषधिका जस्ता अत्यावश्यक सामग्रीका लागि समेत आयातमा निर्भर रहेको छ। रासायनिक मलमाथिको प्रतिबन्धले यसलाई अझै गम्भीर बनाउन योगदान दिएको छ। अहिले चलिरहेको रुस–युक्रेन युद्धले समेत श्रीलंकाको समस्या अझै चर्काइदिएको छ। किनकि श्रीलंका चिनी, दाल र अन्य खाद्यान्नका लागि यी दुईमाथि धेरै नै निर्भर छ। यही कारण अहिले श्रीलंकामा खाद्यान्नको मूल्य आकाशिएको छ। अर्कोतर्फ देशमा खाद्यान्न अयात गर्न सरकारसँग पर्याप्त विदेशी मुद्राको अभाव छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19