काठमाण्डौ । अमेरिकाले आइतवार श्रीलंकाका नेताहरुलाई संकटको दीर्घकालीन समाधानका लागि छिटो कदम चाल्न अपिल गरेको छ।

श्रीलंकामा शनिबार भएका घटनाक्रमपछि अमेरिकाको यो अपिल आएको हो। लाखौँ जनता हिंसात्मक प्रदर्शनमा उत्रिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले शनिबार आफ्नो सरकारी निवास छाड्न बाध्य भएका थिए। त्यसपछि उनले राजीनामाको घोषणा गरेका थिए।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन हाल थाइल्यान्डको भ्रमणमा छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘यस्तो परिस्थितिमा श्रीलंकाको संसदले कुनै राजनीतिक दलसँग होइन देशको हितमा प्रतिबद्धताका साथ काम गर्नुपर्छ। यो सरकार वा नयाँ संवैधानिक रुपमा निर्वाचित सरकारलाई समस्याको दीर्घकालीन समाधानको बाटोतिर लाग्न अपिल गर्छौं।’ 

संकटको समाधान खोज्न र त्यसलाई कार्यान्वयन गर्ने कार्यले श्रीलंकामा दीर्घकालीन आर्थिक स्थायित्व ल्याउने र खराब हुँदै गएको आर्थिक अवस्था, खाद्यान्न र इन्धनको अभावमा श्रीलंकाका जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सकिने अमेरिकाको भनाइ छ। 

अमेरिकाले प्रदर्शनकारी वा पत्रकारमाथि कुनै पनि आक्रमण नगर्न चेतावनी दिएको छ। यसका साथै शनिबार भएको हिंसाको अमेरिकाले पनि आलोचना गरेको छ। शनिबार आक्रोशित प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको घरमा आगजनी गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘श्रीलंकाका जनतालाई शान्तिपूर्ण रुपमा आफ्नो आवाज उठाउने अधिकार छ। हामी प्रदर्शनका क्रममा हिंसाका कुनै पनि घटनाको पूर्ण छानबिन र जिम्मेवार व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गर्न माग गर्दछौँ।’

अमेरिका श्रीलंकाको गृहयुद्ध र चीनसँगको निकटताका सम्बन्धमा राजापाक्षे सरकारको नीतिको कडा आलोचना गर्दै आएको छ। –एजेन्सी