काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७.६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २.४ प्रतिशत बोनस सेयर र ५.२ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएको सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। कम्पनीमा सेयर संरचना परिमार्जन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। हाल कम्पनी संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ५३.३२ प्रतिशत र ४६.६८ प्रतिशत रहेको छ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।