काठमाण्डौ । प्रभू बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति हासिल गर्दै सबैलाई चकित तुल्याइदिएको  छ । तीव्र सुधार अभियानमा होमिएको यो बैंकले तेश्रो त्रैमाससम्म खुद नाफा मात्रै १ अर्ब ४४ करोड कमाएको हो ।

अघिल्लो वर्षको यही अवधिमा यो बैंकले ७५ करोड ७८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यो बैंकले तेश्रो त्रैमाससम्म १ अर्ब ४४ करोड रुपैयाँ खराब ऋण राइट ब्याक गरेको छ ।

बैंकको संचालन मुनाफा समेत १ सय २२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ५२ करोड ६३ लाख रुपैयाँ रहेको संचालन मुनाफा यो वर्ष वृद्धि भई १ अर्ब १७ करोडको उचाईमा पुगेको छ ।

नाफातर्फ भएको कमालको प्रगतिका कारण यो बैंकको प्रति सेयर आम्दानी, निक्षेप र कर्जा समेतमा उल्लेख्य प्रगति भएको छ । वार्षिकीकृत प्रति सेयर आम्दानी ३२ रुपैयाँ ७८ पैसा प’गेको छ । अघिल्लो वर्षको यो अवधिमा प्रति सेयर आम्दानी  १९ रुपैयाँ २८ पैसा मात्र थियो ।

बैंकले ७१ ऋर्ब ६० करोड निक्षेप संकलन गरी ६० अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५४ अर्ब ५४ करोड निक्षेप संकलन गरी ४४ अर्ब ३५ करोड कर्जा परिचालन भएको थियो ।

व्यवसाय वृद्धिमा आक्रामक ढंगले लागेको बैंकले खुद ब्याज आम्दानीतर्फ पनि कमालको प्रगति गरेको छ । अघिल्लो वर्षको यो अवधिसम्म १ अर्ब २२ करोडमा सीमित खुद ब्याज आम्दानी बढेर १ अर्ब ९५ करोड पुगेको छ ।

ग्राण्ड बैंक लगायतका खराब संस्थाहरुको मर्जरका कारण प्रभु बैंकका लागि सबैभन्दा ठुलो टाउको दुखाईको बिषय निस्क्रिय कर्जा रहेको थियो । बैंकले यसमा पनि तीव्र सुधार गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १० प्रतिशत रहेको निस्क्रिय कर्जा अन’पात घटाएर यो वर्ष ४.३२ प्रतिशतमा झार्न बैंक व्यवस्थापन सफल भएको छ ।

बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ छ । अघिल्लो वर्ष तेश्रो त्रैमासमा जगेडा कोष १७ करोड ७७ लाखले ऋणात्मक थियो ।

खराब अवस्थाबाट हेर्दा हेर्दै लगानीकर्ताको समेत रोजाईको बैंक बन्न सफल प्रभु बैंकले निकट भविष्यमै ४० प्रतिशत हकप्रद सेयर निश्कासन गर्दैछ । हकप्रदको पुँजीकरणपछि चुक्तापुँजी ८ अर्ब २२ करोडको उचाईमा पुग्नेछ ।